प्रदेश स्तरीय महिला क्रिकेट तेस्रो दिन : सर्लाही र सिरहा बिजयी

२०७७ पुष ३, शुक्रबार ०८:२९

३ पौष राजबिराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा सर्लाहिले सप्तरीलाई ६९ रनले तथा सिरहाले बारालाई ९ विकेटले पराजित गरेको छ ।

सप्तरी VS सर्लाही 

राज रंगशालामा संचालित पहिलो खेल अन्तर्गत टस जितेर पहिले ब्याटिंगको निर्णय लिएको सर्लाहीले १५ ओभरमा ५ विकेट गुमाएर २१५ रन बनाउँदै सप्तरीलाई २१६ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि मेलिना रायमाझीले ५९ बलमा १२ चौकाको मद्धतले अविजित ७८ रन बनाइन् भने श्रेया थापा १९ रनमा अविजित रहिन्। सप्तरीले समयभन्दा ढिलो ओभररेटको कारण स्थानीय अवस्थाको मध्यनजर गर्दै प्रति ओभर १० रनका दरले ५० रन पेनाल्टी वापत सर्लाहीलाई दिन बाध्य बनेको थियो।

सप्तरीको बलिंगतर्फ नविता चौधरीले ३ तथा सिता चौधरीले १ विकेट हात पारेका थिए।

जवाफी ब्याटिंगमा उत्रिएको सप्तरीले १६ ओभरमा ९ विकेट गुमाएर १४६ रनमात्र बनाउन सक्यो। सर्लाहीले समेत ढिलो ओभररेटका कारण १० रनका दरले ४० रन पेनाल्टी वापत सप्तरीलाई दिन बाध्य बनेको थियो। सप्तरीका लागि नबिता चौधरीले ११ बाहेक अन्य कसैले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सर्लाहीको बलिंगतर्फ दघढसर्गा कार्की र दिया बिकले समान २-२ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच उत्कृष्ट ब्याटिंग गरेका सर्लाहीकि मेलिना रायमाझी घोषित भइन्।

बारा VS  सिरहा 

बिहिवारनै सम्पन्न अर्को खेलमा सिरहाले बारामाथी ९ विकेटको फराकिलो जित दर्ता गरेको छ। टस जितेर पहिले ब्याटिंगको निर्णय लिएको बाराले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर मात्र ८४ रन बनाउँदै सिरहालाई ८५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो। बाराका लागि साना प्रविनले ६३ बलमा ३ चौकाको मद्धतले अविजित ३३ रन तथा चाँदनी अधिकारीले १५ रन बनाए।

सिरहाको बलिंगतर्फ सरस्वति चौधरीले २ तथा सन्तोषी चौधरी र कविता गौतमले समान १ विकेट लिए।

८५ रनको झिनो लक्ष्य पछ्याएको सिरहाले १०.५ ओभरमा १ विकेट गुमाएर सहजै पुरा गर्यो। उसका लागि राधा चौधरीले २७ बलमा ६ चौक्काको मद्धतले ३८ रन तथा उर्मिला चौधरीले ३५ बलमा ३ चौक्काको मद्धतले २६ रन बनाएका थिए। दुवै खेलाडी अविजित रहे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सिरहाका राधा चौधरी म्यान अफ द म्याच घोषित भईन्।

प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेलमा सप्तरी र महोतरीबीच प्रतिस्पर्धा हुने कुरा सप्तरी क्रिकेट संघका सदस्य शम्भु दासले जनाकारी गराउनु भयो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy