दाङ । शनिबार देखि दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन् गईरहेको महिला प्रधानमन्त्री कपको तयारी पूरा भएको छ ।
लुम्बिनी प्रदेशको प्रतिष्ठासँग जोडिएर हेरिएको प्रतियोगिताको तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी गराएको छ ।
प्रतियोगिताको पूर्व सन्ध्यामा अहिले मैदान प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको छ । विशेष माटो प्रयोग गरेर तीन वटा विकेट तयारी अवस्थामा रहेको छ । त्यसअघि आउट फिल्डलाई पनि राम्रोसँग ब्यबस्थापन गरिएको छ ।
ब्यबस्थापनका हिसावले पनि अन्य कामहरु सकिसकेका छन् । यसै बीचमा आयोजनाको जिम्मेवारी प्राप्त गरेको लुम्बिनी क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा मगरले प्रतियोगितालाई लिएर उत्साहित रहेको र प्रतियोगिताको आयोजनालाई लिएर न्यान्य गर्ने बताएका छन् ।
यता प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
जस अन्तर्गत समूह ‘ए’ मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । भने समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ ।
उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नम्बर २ को सामना गर्नेछ । खेल अघि स्थानिय लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख अथित्यतामा उद्घाटन सत्र हुनेछ ।
यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १७ गते हुनेछ । भने प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।