कोहलपुर ओपन : शुबेन्दुको शतकमा यस एक्स्पर्टको जित, क्वार्टरफाइनल समीकरण पुरा

२०७७ पुष २२, बुधबार १७:४६

शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेश्रो दिन तिन वटा खेल सम्पन्न भएका छन्।

बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलहरु जित्दै युभीसीसी कोहलपुर, बिबिसीसी किर्तिपुर र यस एक्स्पर्टले क्वार्टरफाइनल प्रवेश गरेका छन्।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दिनको पहिलो खेलमा युभीसीसी कोहलपुरले नेपालगंज च्याम्पलाई ३४ रनले पराजित गर्यो। युभीसीसी कोहलपुरले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालगंज च्याम्पले १२.५ ओभरमा सबै विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा नेपालगंज च्याम्पको लागि फर्दीन खानले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। युभीसीसीको बलिंगमा आलोक चौधरी र सुमन गुरुङले समान ३ विकेट लय भने बिरेन्द्र शाही र गोपाल केसीले समान २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको युभीसीसीले निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो। उसको लागि सुमन गुरुङले सर्वाधिक २७, कमल थापाले १८ तथा गोपाल केसीले १२ रन बनाए। नेपालगंज च्याम्पको बलिंगमा अनिमेष जंग शाहीले सर्वाधिक ४ विकेट तथा रबिश वर्मा र क्रितेश कार्कीले समान २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच युभीसीसी नेपालगंजका सुमन गुरुङ चुनिए।

दिनको दोश्रो खेलमा बिबिसीसी किर्तिपुरले राझा स्पोर्ट्स क्लबलाई ८ विकेटले पराजित गर्यो। राझाले दिएको ६४ रनको लक्ष्य बिबिसीसीले ५.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

बिबिसीसीको लागि सन्दिप कुँवरले सर्वाधिक ३१ रन बनाए जुन क्रममा १० बलमा ५ छक्का हिर्काए। निरज सिंह धामीले १९ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको राझाले १२.१ ओभरमा सबै विकेट गुमाएर ६३ रन बनाएको थियो। राझाको लागि सद्दाम खानले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बिबिसीसी किर्तिपुरका बलर निरज सिंह धामीले सर्वाधिक ४ विकेट तथा जनक बिस्टले २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बिबिसीसी किर्तिपुरका निरज सिंह धामी चुनिए।

दिनको तेश्रो खेलमा यस एक्स्पर्ट्सले न्यु रोड-११ लाई १२६ रनले पराजित गर्यो। यस एक्स्पर्टले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा न्यु रोड-११ ले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो। न्यु रोडको लागि महात्मा ओलीले सर्वाधिक १९ रन बनाए। यस एक्स्पर्टका बलर चित्र शर्माले ३ विकेट, नासिर अन्सारीले २ विकेट तथा सन्दिप खत्री र बिरेन्द्र नाथ योगीले समान १ विकेट लिए।

शुबेन्दु पाण्डेले शतक बनाए

यस अघि टस जितेर ब्याटिंग रोजेको एक्स्पर्ट्सले १५ ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो। उसको लागि शुबेन्दु पाण्डेले शतक बनाउने क्रममा ५३ बलमा ११ चौका र ९ छक्का मद्दतले अविजित ११७ रन प्रहार गरे। बिमल सुनारले १९ तथा सुनिल खड्काले १८ रन बनाए।

न्यु रोड-११ को बलिंगमा क्षितिज मल्लले २ तथा मदन शर्मा र किरन रावलले समान १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत बिहिबार क्वार्टरफाइनल चरणको खेलहरु हुनेछन्। पहिलो क्वार्टरफाइनलमा विहान ८:३० बजे न्यु दर्पण युथ क्लब र कारकाँदो क्रिकेट क्लब, दोश्रो क्वार्टरफाइनलमा बिहान ११:३० बजे च्याम्पियन्स स्पोर्ट्स क्लब र कोहलपुर क्रिकेट एकेडेमी तथा तेश्रो क्वार्टरफाइनलमा बिबि वारियर्स र युभीसीसी कोहलपुरले प्रतिस्पर्धा गर्नेछन्। चौथो क्वार्टरफाइनल खेल शुक्रबार विहान बिबिसीसी किर्तिपुर र सम्झना स्पोर्ट्स क्लब बीच खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy