प्रम कप : खेलाडी प्रोत्साहन गर्न बागमती प्रदेशद्वारा पुरस्कार घोषणा

२०७७ माघ ३, शनिबार २०:१७

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बागमती प्रदेशको क्रिकेट टिमलाई प्रोत्साहन गर्न बागमती प्रादेशिक क्रिकेट संघले पुरस्कार घोषणा गरेको छ।

संघले आइतबार प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीहरुलाई ५ लाख रुपैयाँको बिमा गरेको बताएको छ। यस्तै प्रत्येक खेलाडीहरुलाई ‘म्याच फि’ वापत २ हजार रुपैयाँ प्रदान गरिनेछ जसको प्रयोजन बागमती प्रदेश खेलकुद परिषदले गर्नेछ।

यस्तै संघले प्रतियोगितामा शतक प्रहार गरेको खण्डमा खेलाडीलाई १० हजार रुपैयाँ, खेलमा ५ विकेट लिने र अर्धशतक प्रहार गर्ने खेलाडीलाई ५ हजार रुपैयाँ र खेलमा ३ विकेट लिने खेलाडीलाई ३ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ। खेलाडीहरुलाई यस्तो घोषणा गर्ने बागमती प्रदेश एकमात्र संघ हो।

प्रधानमन्त्री कपमा सहभागिता जनाइरहेका खेलाडीहरुलाई नेपाल क्रिकेट संघले दैनिक भत्ताको रुपमा १ हजार ४ सय रुपैयाँ प्रदान गरिरहेको छ।

गत संस्करण प्रधानमन्त्री कपमा सेमीफाइनल यात्रा गर्न सफल बागमती प्रदेश टिमको कप्तानी राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्। राष्ट्रिय खेलाडीहरुको बाहुल्यता रहेको टिममा मल्ल बाहेक राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का, पृथु बास्कोटा, इशान पाण्डे, रामनरेश गिरि, दिपेश श्रेष्ठ जस्ता सिनियर तथा आदील खान, नन्दन यादव, बिभत्सु थापा, तिलक राज भण्डारी, गौतम केसी जस्ता उमेर समुह राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडीहरु छन्। टिमको प्रशिक्षकको रुपमा पूर्व राष्ट्रिय क्रिकेटर रिकेश लामा रहेका छन्।

प्रधानमन्त्री कपमा सहभागी हुने बागमती प्रदेश क्रिकेट टिम

गत संस्करण बागमती प्रदेश समुह चारणमा विजेता हुँदै सेमीफाइनलसम्मको यात्रा गर्न सफल रहेको थियो। सेमीफाइनलमा त्रिभुवन आर्मी क्लबसंग पराजित हुँदै बागमतीको यात्रा समाप्त भएको थियो। अनुभवी र युवा खेलाडीहरुको मिश्रण रहेको टिमले यो पटक विभागीय टोलिलाई टक्कर दिन सक्ने अनुमान गरिएको छ।

बागमतीले समुह ‘बि’ मा रहेको छ जुन समुहमा नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन्। बागमतीले माघ ४ गते आइतबार नेपाल पुलिस क्लबसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै माघ ५ गते सुदूरपश्चिमसंग दोश्रो , माघ ९ गते प्रदेश-२ संग तेश्रो तथा माघ ११ गते लुम्बिनीसंग समुह चरणको अन्तिम खेल खेल्नेछ। प्रधानमन्त्री कपको खेल तालिका 

बागमती प्रदेश टिम :  ज्ञानेन्द्र मल्ल ( कप्तान ) , पृथु बास्कोटा ( उपकप्तान ) , पारस खड्का, इशान पाण्डे, रामनरेश गिरि, दिपेश श्रेष्ठ, आकाश थापा, आदील खान, बिभत्सु थापा, आदील खान, गौतम केसी, अरियो पौडेल, तिलक राज भण्डारी, बिपिन आचार्य, नन्दन यादव

वैकल्पिक खेलाडी : रिजन ढकाल, सुबाश खत्री, जितेन्द्र सिंह ठकुरी, पवन श्रेष्ठ

प्रशिक्षक – रिकेश लामा, व्यवस्थापक – प्रेम क्षेत्री

https://www.youtube.com/watch?v=f09WgmsG-Q8&feature=youtu.be

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy