कर्णाली प्रदेशको ऐतिहासिक जित

२०७७ माघ ६, मंगलवार १५:०८

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेशले ऐतिहासिक जित दर्ता गरेको छ। घरेलु राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित दर्ता गर्दै इतिहास रचेको हो। प्रधानमन्त्री कपको अघिल्लो संस्करणहरुमा कर्णाली प्रदेश जितविहिन रहेको थियो। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा कर्णाली त्रिभुवन आर्मी क्लबसंग पराजित भएको थियो। 

मुलपानी मैदानमा सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको २०५ रनको लक्ष्य कर्णालीले ५ विकेट गुमाएर ३६.५ ओभरमा पुरा गरेको हो।

स्कोरकार्ड , अंकतालिका 

कर्णालीको जितमा हिमांशु शाहीले अविजित सर्वाधिक ६८ रन बनाए जुन क्रममा ६० बलमा ७ चौका प्रहार गरे। यस्तै बिपिन रावलले ४९ रन, राज शाहले ३२ रन, हेमन्त ओलीले २९ रन योगदान दिए।

ओपनर निश्चल रावल पहिलो ओभरमा खाता नखोली आउट भएपछि बिपिन रावल र हेमन्त ओलीले दोश्रो विकेटको लागि ७५ रनको साझेदारी गरेका थिए। गण्डकी कप्तान बिपिन खत्रीले बिपिन, हेमन्त , रबिन्द्र शाही र राज शाहको विकेट लिंदै गण्डकीलाई खेलमा हावी गराएका थिए। १४४ रनमा ५ विकेट गुमाएको अवस्थामा छैठौं नम्बरमा ब्याटिंग गर्न आएका हिमांशु शाहीले दिवान पुनसंग अविजित ५९ रनको साझेदारी गर्दै टिमलाई जित सम्म पुर्याएका थिए। पुनले अविजित ८ रन बनाए।

गण्डकीको बलिंगमा कप्तान देब्रे हाते स्पिनर बिपिन रावलले सर्वाधिक ४ विकेट लिए भने सुबास भण्डारीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको गण्डकीले ४२.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २०४ रन बनाएको थियो।

गण्डकीको लागि  राहुल उपाध्यायले सर्वाधिक ५३ रन बनाए जसले ६४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै ओपनर अर्जुन कुमालले ४६ रन, कप्तान बिपिन खत्रीले ३२ रन तथा दिनेश बुढामगरले १० रन बनाए।

पहिलो ३ विकेट २७ रनको स्कोरमा गुमाएपछि ओपनर अर्जुन कुमालले चौथो विकेटको लागि राहुल उपाध्यायसंग ८९ रनको साझेदारी गरेका थिए। राहुलको विकेटपछि अर्जुनले छैठौं विकेटको लागि कप्तान बिपिन खत्रीसंग ४४ रनको साझेदारी गरे। अर्जुनको विकेट पछि भने गण्डकीले लगातार विकेट गुमाउन पुग्यो।

कर्णाली प्रदेशको बलिंगमा दिनेश अधिकारीले सर्वाधिक ३ विकेट तथा अनुज चुनारा र दिवान पुनले समान २ विकेट लिए। कप्तान रबिन्द्र जंग शाहीले १ विकेट लिए।

स्कोरकार्ड , अंकतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy