“आजदेखि मेरो काम सुरु भयो” प्रशिक्षक व्हाटमोर

२०७७ माघ ८, बिहीबार १३:४४

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले  खुशीका साथ आफूसँग भएको ज्ञान र अनुभव नेपाली क्रिकेटसंग साट्ने बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले क्वारेन्टाइन अवधि पुरा गरपछि प्रशिक्षक ह्वाटमोरलाई बिहिबार औपचारिक रुपमा सार्वजनिक गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेलले प्रशिक्षक ह्वाटमोरलाई एक कार्यक्रमसहित स्वागत गरेको हो।

ह्वाटमोरको लागि नेपाल नौलो गन्तव्य होइन । चार वर्षअघि नेपाली टिमलाई ‘हाई परफरमेन्स’ प्रशिक्षण दिन डेभ ह्वाटमोर नेपाल आएका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षक पदका लागि ७७ जनाले आवेदन दिएका थिए जसबाट ह्वाटमोर चयन भएका थिए ।

व्हाटमोरले नेपालको विश्वकप सपना बारे बोल्दै आफुले चुनौती स्वीकार गर्ने बताए – “विश्वकपमा पुग्नु कठिन काम हो तर सपना देख्नुपर्छ र त्यहाँ पुग्ने प्रयास गर्नुपर्छ । सबैले मिलेर प्रयास गर्यो भने अवश्य मौका छ” ।

“नेपाली क्रिकेट टिमसँग काम गर्न धेरै इच्छुक छु । आफूसँग भएको ज्ञान नेपाली क्रिकेटलाई व्यक्तिगत र समूहगत रुपमा पनि बाँड्नेछु । मेरो सामू चुनौती छ तर यसले राम्रो काम गर्न प्रेरित गर्नेछ । आजदेखि नै मेरो काम सुरु भयो ।” उनले आफ्नो कार्यकालमा नेपाली क्रिकेटका वरीयता सुधार गर्ने लक्ष्य पनि राखेको बताएका छन्।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले ह्वाटमोरलाई प्रमुख प्रशिक्षकको रुपमा पाउँदा खुशी भएको बताउँदै उनिसंग टेस्ट खेल्ने र एसोसिएट क्रिकेट राष्ट्रसँग प्रशिक्षक बनिसकेको अनुभवका कारण नेपाली क्रिकेटले धेरै अपेक्षा गरेको बताए । महासचिव प्याकुरेलले प्रशिक्षक ह्वाटमोरसँग नेपाली क्रिकेटको प्राथमिकताबारे धेरै छलफल भइसकेको जानकारी दिए।

ह्वाटमोरको प्रशिक्षकत्वमा नेपालले एकदिवसीय वरीयतामा सुधार गर्ने प्रमुख लक्ष्य लिएको छ । यसैगरी, ग्रासरुटदखि नेपाली क्रिकेट चलायमान गर्न पनि क्यानले ह्वाटमोरको सल्लाह लिनेछ । प्रशिक्षक ह्वाटमोरलाई यु१९ क्रिकेट र महिला क्रिकेटको सल्लाहकारको रुपमा पनि प्रयोग गरिनेछ ।

ह्वाटमोर नेपाली क्रिकेटले पाएको अहिलेसम्मकै उच्च स्तरको प्रशिक्षक हुन् । उनि सन् १९९६ मा श्रीलंकालाई एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाउने प्रशिक्षक हुन् । श्रीलङ्काबाहेक, पाकिस्तान, बङ्गलादेश र जिम्बाब्वेको प्रशिक्षक पनि भइसकेका छन् । सन् २००८ मा बिराट कोहलीको प्रशिक्षकत्वमा भारतले यु१९ विश्वकप जित्दा ह्वाटमोर नै प्रशिक्षक थिए । नेपाल आउनुअघि उनि सिङ्गापुर क्रिकेट टिमका प्रशिक्षक थिए । अहिले ह्वाटमोरको काँधमा नेपालको एकदिवसीय मान्यतालाई कायम राख्ने टि-२० क्रिकेटमा नेपाललाई पुनः विश्वकपमा पुर्याउने दायित्व छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy