नेपाली राष्ट्रिय क्रिकेट टिमले कतार भ्रमणको लागि सुरु गर्ने भनिएको बन्द प्रशिक्षण सोमबार सुरु हुन सकेन।
नेपाली क्रिकेट टिमले फेब्रुअरी ९ देखि १२ तारिखसम्म खेल्ने भनिएको तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजको लागि नेपाल क्रिकेट संघले १८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गर्दै सोमबार देखि प्रशिक्षण सुरु गर्ने बताएको थियो।
राष्ट्रिय टिमका व्यवस्थापक बिक्रम न्यौपानेले विकेटनेपाललाई जानकारी गराउदै कतार टि-२० सिरिज स्थगित भएको जसकारण उक्त सिरिजको लागि बन्द प्रशिक्षण स्थगित गरिएको र अब ओमानमा आयोजना हुने विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजको तयारी सुरु हुने बताए। नेपालले १९ मार्च देखि ओमान र अमेरिकासंग विश्वकप लिग-२ अन्तर्गतको आगामी सिरिज खेल्नेछ।
कतार नेसनल स्पोर्ट्स डेको अवसरमा आयोजना हुने बताईएको उक्त सिरिज कतारमा पछिल्लो समय बढ्दो कोभीड-१९ केसहरुका कारण स्थगित गरिएको बताईएको छ। सोहि कारण सोमबार सुरु हुने बन्द प्रशिक्षण सुरु हुन नसकेको हो। तथापी नेपाल क्रिकेट संघले भने सिरिज स्थगित भएको बारे अधिकारिक जानकारी गरेको छैन।
नेपाल क्रिकेट संघको उच्च श्रोतसंग सिरिज स्थगित भएको बारे जानकारी लिंदा उनले कतारले कोरोनाको बढ्दो केसका कारण हालको लागि सिरिज स्थगित गर्ने निर्णय गरेको बताए। उनले यसबारे अधिकारिक जानकारी छिट्टै बाहिर आउने जानकारी गराए।
गल्फन्युजका अनुसार कतारमा जनवरीमा अघिल्लो महिना भन्दा ८५ प्रतिशत बढी कोभिड-१९ केस बढेको छ। त्यसैले कतारको स्वास्थ्य मन्त्रालयले आइतबार चिन्ता व्यक्त गर्दै कोभीड-१९ को नयाँ लहर आउन रोक्नु पर्नेमा जोड दिएको छ। कतारमा पछिल्लो जानकारी अनुसार १ लाख ५० हजार ९८४ जना कोरोना संक्रमित भएका छन्। गत महिना कतारले कोरोना बिरुद्ध भ्याक्सिन अभियान सुरु गरेको थियो।
We have seen an 85% increase this month compared to last month in the number of people admitted to hospital with COVID-19 It is more important than ever that people adhere to preventive measures pic.twitter.com/Zrx8k4bdzc
— وزارة الصحة العامة (@MOPHQatar) January 31, 2021
कतार टि-२० सिरिजको लागि क्यानले युवा खेलाडीहरुलाई समाबेश गर्दै टिम घोषणा गरेको थियो। टिममा ज्ञानेन्द्र मल्ल, पारस खड्का, बसन्त रेग्मी, शरद भेसावकर, सन्दिप लामिछानेलाई समाबेश गरिएको थिएन। सिरिजमा प्रशिक्षकको रुपमा पनि मुख्य प्रशिक्षक डेभ व्हाटमोरको स्थानमा बसन्त शाही जाने बताईएको थियो।
क्याले अब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको प्रदर्शनको आधारमा १-२ दिन भित्रै प्रारम्भिक राष्ट्रिय टिमको घोषणा गरेर तयारी थाल्ने बताईएको छ। विकेटनेपाललाई प्राप्त जानकारी अनुसार प्रशिक्षक डेभ व्हाटमोर र छनोट समितिले प्रारम्भिक टिमको चयन गरिसकेको छ।
