आईपीएल अक्सन : ९ क्रिकेटर जसले सबैभन्दा धेरै मूल्य पाए

२०७७ फाल्गुन ६, बिहीबार २२:१३

आईपीएलको १४ औं सिजन अघि मिनी अक्सन समाप्त भैसकेको छ जसबाट टिमहरुले ८ जना विदेशी खेलाडी र कुल २४ खेलाडीको कोटा पुरा गरिसकेका छन्। अक्सनमा बिगत जस्तै भारत बाहिरका खेलाडीहरुले ठुलो मूल्य पाए। रोयल च्यालेन्जर्स बैंगलोरले रिलिज गरेका फास्ट बलिंग अलराउण्डर क्रिस मोरिसले युभराज सिंहको १६ करोड भारुको रेकर्ड तोडी लिग इतिहासकै अक्सनमा सर्वाधिक मूल्य पाउने खेलाडी बन्न पुगे। यस्तै अक्सनमा नयाँ नामहरुलाई ठुलो रकम खर्चेर टिमले भित्र्याएका छन् प्रस्तुत छ आईपीएल २०२१ को मिनी अक्सनमा धेरै मूल्य पाउने ९ क्रिकेटरहरु को-को हुन् :-

क्रिस मोरिस : दक्षिण अफ्रिकी बलिंग अलराउण्डर मोरिसलाई राजस्थान रोयल्सले आईपीएल इतिहासकै महँगो मूल्यमा १६ करोड २५ लाख भारु खर्चेर टिममा भित्र्याएको हो। बैंगलोरले रिलिज गरेपछि ७५ लाख भारु बेस प्राइस राखेका मोरिसलाई बैंगलोर, मुम्बई, पन्जाबले पनि बोलि लगाएको थियो। पछिल्लो सिजन रोयल च्यालेन्जर्स बैंगलोरले १० करोड भारु खर्चेर टिममा भित्र्याएको मोरिसलाई पुनः अक्सनमा बैंगलोरले बोलि लगाएको थियो। आईपीएल करियरमा ७० खेल खेलेका ३३ वर्षीय दायाँ हाते फास्ट बलर मोरिसले ७० खेलमा २३.९९ को औशत, १८.४३ को स्ट्राइक रेट र ७.८१ रन प्रतिओभर खर्चदै ८० विकेट लिएका छन्। उनले २०१३ मा चेन्नाईबाट डेब्यु गरेका थिए।

क्रिस मोरिसले सर्वाधिक मूल्य पाए

कायल जेमिसन : न्युजिल्यान्डका ६ फिट ८ इन्च अग्ला फास्ट बलिंग अलराउण्डर कायल जेमिसनलाई बिराट कोहली कप्तानीको टिम बैंगलोरले महँगो मूल्य १५ करोड भारुमा भित्र्यायो। अक्सनमा क्रिस मोरिस ( १६.२५ करोड भारु ) पछि कुनै पनि क्रिकेटरले पाएको यो दोश्रो धेरै रकम हो।  न्युजिल्यान्डको लागि मात्र ४ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका जेमिसनले गत वर्ष नोभेम्बरमा वेस्टइन्डिज बिरुद्ध डेब्यु गरेका थिए। ४ खेलमा उनले ३ विकेट लिएका छन्। ३८ प्रथम श्रेणी टि-२० खेलेका उनले ५४ विकेट लिएका छन्।जेमिसनले अक्सनमा महँगो मूल्य पाउने अनुमान पहिले देखि गरिएको थियो। उनलाई लिन बैंगलोर पछि पन्जाब किंग्स, र दिल्ली क्यापिटलले बोलि लगाएको थियो।

ग्लेन म्याक्सवेल : किंग्स-११ पन्जाबले रिलिज गरेका अस्ट्रेलियन ब्याटिंग अलराउण्डर म्याक्सवेलले पुनः अक्सनमा ठुलो मूल्य १४ करोड २५ लाख भारु पाए। २ करोड बेस प्राइस राखेका उनलाई लिन कोलकाता, राजस्थान र चेन्नाईले पनि बोलि लगाएको थियो। चेनाईले १४ करोड सम्म बोलि लगाएको थियो। म्याक्सवेलले पछिल्लो ७ सिजन पन्जाबको लागि खेल्ने क्रममा १५७.६९ को स्ट्राइक रेटले कुल १,३८३ रन बनाएका थिए जसको प्रदर्शनको मद्दतले २०१४ मा पन्जाब पहिलो पटक फाइनल पुगेको थियो। तर गत सिजन कमजोर प्रदर्शन गर्ने क्रममा उनले १३ खेलमा १०१.८८ को स्ट्राइक रेटले मात्र १०८ रन बनाउन सकेका थिए।

झाई रिचर्डसन :  पन्जाब किंग्सले अस्ट्रेलियन फास्ट बलिंग अलराउण्डर झाई रिचर्डसनलाई १४ करोड भारुमा भित्र्याएको हो। २४ वर्षीय दायाँ हाते फास्ट बलर यो सिजन बिग ब्यास लिगमा सर्वाधिक विकेटकर्ता थिए। पर्थको लागि खेल्ने क्रममा उनले १७ खेलमा १६.३१ को औशतले २९ विकेट लिएका थिए। १ करोड ५० लाख भारु बेस प्राइस राखेका उनलाई लिन बैंगलोर र दिल्लीले पनि बोलि लगाएको थियो। दिल्लीले ११.२५ करोडसम्म तथा बैंगलोरले १३.७५ करोडसम्म बोलि लगाएको थियो। रिचर्डसनले अस्ट्रेलियाको लागि २०१७ मा टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए जसपछि ९ टि-२० मा ९ विकेट लिएका छन्।

क्रिश्नप्पा गोथम : महेन्द्र सिंह धोनीले ३२ वर्षीय अफस्पिन अलराउण्डर गोथमलाई रेकर्ड मूल्यमा भित्र्याएको हो। गत सिजन गोथमले चेन्नाईको लागि खेलेका थिए। उनले पाएको ९.२५ करोड भारु आईपीएल इतिहासमा भारतीय राष्ट्रिय टिमको लागि नखेलेका अनक्याप्ड खेलाडीले पाएको योनै सर्वाधिक मूल्य हो। यस अघि सन् २०१८ को अक्सनमा मुम्बई इन्डीएन्सले क्रुनाल पान्ड्यालाई ८.८० करोड भारु खर्चेर भित्र्याएको थियो। मात्र २० लाख बेस प्राइस राखेका गोथमलाई टिममा लिन सुरुवातमा कोलकाता र सनराइजर्स हैदरावादले बोलि लगाएको थियो। हैदरावादले ९ करोडसम्म बोलि लगायो। आईपीएलमा २०१८ मा डेब्यु गरेका गोथमले २४ खेलमा १३ विकेट लिएका छन् भने १८६ रन बनाएका छन्।

क्रिश्नप्पा गोथम

राईली मेरेडीथ : अक्सनमा महँगो मूल्य खर्च गरेको पन्जाबले अस्ट्रेलियन अनक्याप्ड खेलाडी २४ वर्षीय मेरेडीथलाई ८ करोड भारु तिरेर भित्र्यायो। यो सिजन बिग ब्यास लिगमा होबार्ट हरिकेन्सबाट खेलेका मेरेडीथले १३ खेलमा १६ विकेट लिएका थिए जुन क्रममा ७.८२ रन प्रतिओभर रन खर्चेका थिए। ३४ वटा प्रथम श्रेणी टि-२० खेलेका उनले ४२ विकेट लिएका छन्। ४० लाख भारु बेस प्राइस राखेका मेरेडीथलाई दिल्लीले सुरुवात बोलि लगाएको थियो जसपछि पन्जाबले बोलि लगाएको थियो। दिल्लीले ७.७५ करोडसम्म बोलि लगाएको थियो।

मोइन अलि : चेन्नाईसंग खालीरहेको १ मात्र विदेशी खेलाडीको स्थान इंग्ल्यान्ड अलराउण्डर मोइन अलिले लिए जसले ७ करोड भारु मूल्य पाए। ३३ वर्षीय अफस्पिनर तथा देब्रे हाते ब्याट्सम्यानलाई बैंगलोरले रिलिज गरेको थियो। आईपीएलमा १९ खेलमा १० विकेट लिएका अलिले ३०९ रन बनाएका छन्। इंग्ल्यान्डको लागि ३४ टि-२० खेल्दा अलिले १७ विकेट लिएका छन् भने ३९२ रन बनाएका छन्। २ करोड बेस प्राइस राखेका अलिलाई लिन पन्जाबले सुरुवात बोलि लगाएको थियो जसपछि चेन्नाईले बोलि बढाएको थियो। पन्जाबले अन्तिम बोलि ६.७५ करोडको लगाएको थियो।

शाहरुख खान : पन्जाबले ५ करोड २५ लाख भारु तिरेर भित्र्याएका भारतीय अनक्याप्ड क्रिकेटर शाहरुख खान पहिलो पटक आइपीएल खेल्न छानिएका हुन्। दायाँ हाते ब्याट्सम्यान खानले ३१ प्रथम श्रेणी टि-२० मा २९३ रन बनाएका छन्। तमिलनाडुको लागि भारतीय घरेलु क्रिकेट खेल्ने ६ फिट ६ इन्च अग्ला खान आक्रामक ब्याटिंग गर्दै खेल जिताउन सक्ने ब्याट्सम्यान हुन्। २० लाख भारु बेस प्राइस राखेका खानलाई टिममा लिन दिल्ली र बैंगलोरले सुरुवात बोलि लगाएको थियो। दिल्लीले ३.२० करोडसम्म बोलि लगायो भने बैंगलोरले ५ करोडको अन्तिम बोलि लगाएको थियो।

टम करन : इन्ग्लिश बलिंग अलराउण्डर २५ वर्षीय टम करनलाई दिल्ली क्यापिटल्सले ५ करोड २५ लाख भारु खर्चियो। इंग्ल्यान्डको लागि २७ टि-२० अन्तर्राष्ट्रिय खेलेका करनले १० वटा आईपीएल म्याच खेलेका छन्। राजस्थान रोयल्सले रिलिज गरेपछि दिल्लीमा भित्रिएका कारण तिब्र गतिमा बलिंग गर्न सक्छन् भने तल्लो क्रममा आएर विस्फोटक इनिंग्स पनि खेल्न सक्छन्।

यी खेलाडी बाहेक आईपीएल अक्सनमा न्युजिल्यान्ड फास्ट बलर नाथन कोल्टर नाइलले ५ करोड भारु, अस्ट्रेलियन बलिंग अलराउण्डर ड्यान क्रिस्टीएनले ४ करोड ८० लाख भारु,अस्ट्रेलियन ब्याटिंग अलराउण्डर मोईसेस हेनरिक्सले ४ करोड २० लाख भारु,  भारतीय बलिंग अलराउण्डर शिभम दुबेले ४ करोड २० लाख भारु,बंगलादेश अलराउण्डर शाकिब अल हसनले ३ करोड २० लाख भारु, न्युजिल्यान्ड फास्ट बलर एडम मिल्नेले ३ करोड २० लाख भारु मूल्य पाए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy