रुपन्देही सुपरलिग : कृष्ण कार्की चम्किदा वेष्टर्न डिभिजन ‘ए’मा

२०७७ फाल्गुन ९, आईतवार २०:०२

प्रकाश न्यौपाने, भैरहवा, फागुन ९

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘बी’को अन्तिम खेलमा वेष्टर्न क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई ४९ रनले पराजित गर्दै डिभिजन ‘ए’मा प्रवेश गरेको छ । यसअघि बुटवल राइनोज, तिलोत्तमा क्रिकेट क्लब र सैनामैना क्रिकेट क्लब ‘ए’ डिभिजनमा प्रवेश गरिसकेका छन् ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ९ विकेटको क्षतिमा १६१ रनको योगफल बनायो । उसका लागि अनिल खरेलले नटआउट २७, देव खनालले २४ र राहुल विकले २३ रन बनाए । बलिङमा गोलपार्कका हेमन्त ओलीले ३ र रिक्की पुनले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गोलपार्कले ३९.२ ओभरमा सबै विकेट गुमाइ ११२ रन मात्रै बनाउन सक्यो । उसका लागि रिक्की पुनले ३२ र राजेश थापाले १३ रन बनाए । बलिङमा वेष्टर्नका कृष्ण कार्कीले ९ ओभरमा ५ मेर्डन राख्दै ९ रन खर्चेर ४ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, अनिल खरेलले ३ विकेट लिए ।

डिभिजन ‘बी’का खेल सकिएसँगै अब मंगलबारबाट डिभिजन ‘ए’का खेलहरु हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy