रुपन्देही सुपर लिग : इशान पाण्डेले अलराउण्ड प्रदर्शन गर्दा बुटवल विजयी, राइनोज डिभिजन ‘बी’मा घटुवा

२०७७ फाल्गुन १४, शुक्रबार १६:५८

प्रकाश न्यौपाने, भैरहवा, फागुन १४

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’को खेलमा बुटवल–११ ले बुटवल राइनोजलाई ११४ रनले पराजित गर्दै जित निकालेको छ । हारसँगै बुटवल राइनोज डिभिजन ‘बी’मा घटुवा भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल–११ ले निर्धारित ५० ओभरमा ३२.१ ओभर खेल्दै सबै विकेट गुमाई १९९ रनको योगफल बनाएको थियो।

उसका लागि राष्ट्रिय क्रिकेटर इशान पाण्डेले ८३ र प्रकाश केसीले ६५ रन बनाए । पाण्डेले ८८ बलमा १० चौका तथा केसीले ४८ बलमा ११ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ओपनिंग ब्याटिंग गर्न गएका पाण्डेले तेश्रो विकेटको लागि केसीसंग ११० रनको साझेदारी गरेका थिए।

बलिङमा बुटवल राइनोजका सुगम गमालले ७.१ ओभरमा १ मेर्डन राख्दै ४३ रन खर्चेर ६ विकेट लिए । यस्तै, असलम अली र अरविन्द सारुले समान २/२ विकेट लिए।

Ishan Pandey ले अलराउण्ड योगदान दिए ( फाइल फोटो )

जवाफी ब्याटिङ गरेको बुटवल राइनोजले २५.४ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्रै बनायो । उसका लागि सनित श्रेष्ठले सर्वाधिक १३ , सुगम गमालले १२ र अब्दुल नसिमले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा बुटवल–११ का इशान पाण्डेले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र ७ रन खर्चिए। यस्तै तौसिफ आलम र एजाज आलमले २/२ तथा देवेन्द्र सोमरे र सुदन श्रेष्ठले समान १/१ विकेट लिए ।

अलराउण्ड प्रदर्शन गरेका इशान पाण्डे म्यान अफ द म्याच भए ।

लिगको खेलहरु अब दुई दिनको विश्राम पछि फाल्गुन १७ गते डिभिजन ‘ए’ का बुद्ध क्रिकेट क्लब र बुटवल–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी गराए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार र म्यान अफ द फाइनललाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

https://www.youtube.com/watch?v=H_QuS0iqHPU

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy