रुपन्देही सुपर लिग : वेष्टर्न सेमिफाइनलमा

२०७७ फाल्गुन २३, आईतवार २०:१३

प्रकाश न्यौपाने, भैरहवा, फागुन २३

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’को समूह ‘बी’को खेलमा वेष्टर्न क्रिकेट क्लबले जीआर क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै समूह ‘बी’बाट वेष्टर्न सेमिफाइनल प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०१ रनको योगफल बनायो । उसका लागि हरजित सिंहले ५९, उत्सव श्रेष्ठले ५० र राहुल कुमारले २१ रन बनाए । बलिङमा जीआरका लागि धिरज शाहीले ४, सिद्धान्त शाहीले २, संदीप सुनार, नितेष थापा र राजवीर सिंहले समान १/१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको जीआरले २९.५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमै समेटियो । उसका लागि अर्जुन गिरीले ३०, नरेश चन ठकुरीले २८ र धिरज शाहीले १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका सन्देश थापा र कमल थापाले ३/३, राहुल कुमारले २ र विवेक पराजुलीले १ विकेट लिए । हरिजत सिंह म्यान अफ द म्याच भए ।

सोमबार डिभिजन ‘ए’ को समूह ‘सी’मा रहेका न्यू होराइजन क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

https://www.youtube.com/watch?v=XRmu4ElkgRA

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy