काठमाडौं ।
काठमाडौं मेयर्स कप २०७७ अन्तर्गत मुलपानी क्रिकेट मैदान नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल भइरहेको छ ।
जहाँ टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३०.१ ओभरमा सबै विकेट गुमाएर ८७ रन अलआउट भएको छ ।
आर्मीका लागि नवौं नम्बरमा ब्याटिङ गरेका लोकेश बमले सर्वाधिक ३२ रन बनाए ।
यसअघिका दुई खेलमा सोमपाल कामीसंगै ओपनिङ गरेका लोकेशले पुलिस विरुद्ध भने तल्लोक्रममा ब्याटिङ गरेका हुन् । उनले २४ बल खेल्दै २ चौका ३ छक्का प्रहार गरे । नवौं विकेटका लागि लोकेशले विक्रम सोबसंग ४१ रनको साझेदारी गरेका थिए ।
आर्मीले ४३ रन हुँदा ८ विकेट गुमाएको थियो । लोकेश र विक्रमको साझेदारीले आर्मीको रन केही उकासिएको थियो ।
आर्मीका विक्रमले १४ र रोहित पौडेलले १३ रन बनाए । यी तीन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आर्मीलाई अलआउट गर्न पुलिसका सागर ढकाल एक्लैले ५ विकेट लिए । सागरले १० ओभरमा २ ओभर मेडन राख्दै ४० रन खर्चेर ५ विकेट लिए ।
यस्तै पवन सर्राफले १० ओभरमा ५ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी ५.१ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए ।
