सप्तरी प्रिमियर लिग : राशिदले आक्रमक ब्याटिंग गर्दा तिलाठी कोईलाडी विजयी

२०७७ चैत्र ११, बुधबार १७:१८

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत चौथो दिन सम्पन्न दुईवटा खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्स र दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसले जित हात पारेका छन्।

दिनको पहिलो खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गर्यो। स्कोरकार्ड 

राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिइएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा रुपनीको लागि फिर्दोश अन्सारीले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ३४ बलमा ८ चौका र २ छक्का प्रहार गरे। सुनिल धमलाले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। माथिल्लो क्रममा ब्याटिंग गरेका लोकेश बम, कप्तान कुशल भुर्तेल र निरज मुखिया खाता नखोली आउट भए।

बजाज खडक वारियर्सको बलिंगमा गोमानंद अमात्यले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा १५ रन खर्चिए। अनिल खरेल र विवेक यादवले समान २ विकेट तथा भुलावन सहानी र पवन सर्राफले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएको थियो।

अनिल शाहले लगातार दोश्रो शतक बनाए

वारियर्सको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका अनिल शाहले लगातार दोश्रो शतक प्रहार गर्ने क्रममा सर्वाधिक ११३ रन बनाए जुन क्रममा ६४ बलमा १२ चौका र ७ छक्का प्रहार गरे। अनिलले अघिल्लो खेलमा बोदे बर्साईन थन्डर्स बिरुद्ध पनि शतक बनाएका थिए। उनले अर्धशतक ४४ बलमा पुरा गरेपछि अर्को १६ बलमा अर्थात् ६० बलमा शतक पुरा गरेका थिए। शतक पुरा गरेपछि उनलाई फिर्दोश अन्सारीले क्याच आउट गराए।

वारियर्सको लागि कप्तान विवेक यादवले पनि आक्रामक ब्याटिंग गर्दै अविजित अर्धशतक बनाए। उनले मत्र २३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। अनिल र विवेकले तेश्रो विकेटको लागि मात्र ५४ बलमा १३८ रनको साझेदारी गरेका थिए।

रुपनि राईडर्सको बलिंगमा अनिल यादवले २ विकेट लिए भने फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए।

तिलाठी कोईलाडीको जितमा राशिदको अलराउण्ड प्रदर्शन 

दिनको दोश्रो खेलमा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ४ विकेटले पराजित गर्यो। स्कोरकार्ड 

टिभीएस किंग्स राजविराजले दिएको १४५ रनको लक्ष्य तिलाठी कोईलाडीले ६ विकेट गुमाएर १५.१ ओभरमा पुरा गर्यो।

राशिद खानले अलराउण्ड योगदान दिए

तिलाठी कोईलाडीको जितमा राशिद खानले अविजित अर्धशतक बनाउने क्रममा ६५ रन बनाए जुन क्रममा २९ बलमा २ चौका र ८ छक्का प्रहार गरे। दिपेश कंडेलले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३० रन बनाए। सन्तोष कार्कीले १८ रन बनाए।

५८ रनको योगफलमा ६ विकेट गुमाएको अवस्थामा राशिद र दिपेशले सातौँ विकेटको लागि अविजित ८७ रनको साझेदारी गर्दै जित दिलाए।

टिभीएस किंग्सको बलिंगमा दिनेश अधिकारी र मेहबुब आलमले समान २ विकेट तथा रोहित सिंह र सुरज कुर्मीले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४४ रन बनाएको थियो।

मेहबुब आलमले आक्रामक अर्धशतक बनाए

टिभीएस किंग्सको लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन बनाए जुन क्रममा ४६ बलमा ३ चौका र ९ छक्का प्रहार गरे। सुरज कुर्मीले १४ रन तथा अमल दासले ११ रन बनाए।

८१ रनमा ७ विकेट गुमाएको अवस्थामा आलमले सुदर्शन सिंहसंग ४९ रनको साझेदारी गरेका थिए।

तिलाठी कोईलाडीको बलिंगमा राशिद खान र दिपेश कंडेलले समान ३ विकेट, कप्तान दिपेन्द्र ऐरीले २ विकेट तथा मनिष मण्डलले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच राशिद खान चुनिए।

प्रतियोगिता चौथो दिनको खेल समाप्ति पछि समान तिन खेलमा दुई जित र एक हार बेहोरेका बजाज खडक वारियर्स, रुपनी राईडर्स र तिलाठी कोईलाडी क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन्। एक जित हात पारेको टिभीएस किंग्स चौथो र जितविहिन बोदे बर्साईन थन्डर्स पाँचौ स्थानमा रहेको छ। अंकतालिका

लिग अन्तर्गत बिहिबार पनि दुई खेल खेलिनेछन्। पहिलो खेलमा बिहान ९ बजे टिभीएस किंग्स राजविराज र रुपनी राईडर्स तथा दिउसो १ बजे सुरु हुने खेलमा बोदे बर्साईन थन्डर्स र तिलाठी कोईलाडीले प्रतिस्पर्धा गर्नेछन्।

धेरैले पढेको 

https://wicketnepal.com/bajaj-win-anil-shatak-wn21/

https://wicketnepal.com/ind-vs-eng-1st-odi-wn21-res-323/

https://wicketnepal.com/lalitpur-mayor-cup-khel-talika-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy