कुशल र आसिफको नयाँ विश्वकीर्तिमान, नेपालको जितमा बनेका ८ कीर्तिमान

२०७८ बैशाख ५, आईतवार ११:१५

नेदरल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक टि-२० सिरिजमा शनिवार विजयी सुरुवात गर्यो। नेदरल्याण्डले दिएको १३७ रनको लक्ष्य १५ ओभरमा मात्र १ विकेट क्षेतीमा पुरा गर्ने क्रममा नेपालले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बिभिन्न नयाँ रेकर्डहरु समेत बनाएको छ। खेलमा बनेका रेकर्डहरुको चर्चा यो लेखमा गरेका छौँ –

१. पहिलो विकेटको लागि सर्वाधिक साझेदारी 

कुशल भुर्तेल र आसिफ शेखले गरेको ११६ रनको ओपनिंग साझेदारी नेपालको टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै सर्वाधिक ओपनिंग साझेदारी हो। यस अघि यो रेकर्ड पारस खड्का र ज्ञानेन्द्र मल्लको नाममा रहेको थियियो जसले २०१९ डिसेम्बरमा नेपालमा आयोजित साग क्रिकेटमा भुटान बिरुद्ध १०८ रनको ओपनिंग साझेदारी गरेका थिए। उक्त रेकर्ड आसिफ र कुशलले तोडेका हुन्।

२. कुनै पनि विकेटको लागि दोश्रो ठुलो साझेदारी 

आसिफ-कुशलको ११६ रनको साझेदारी टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटको लागि दोश्रो ठुलो साझेदारी हो। सबैभन्दा ठुलो साझेदारीको रेकर्ड पारस खड्का र आरिफ शेखको नाममा रहेको छ जसले २०१९ सेप्टेम्बरमा सिंगापुर बिरुद्ध अविजित १४५ रनको साझेदारी गरेका थिए।

 

३. डेब्युमा अर्धशतक सर्वाधिक व्यक्तिगत स्कोर

नेपालको लागि डेब्यु टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सुची लम्बिएको छ। यस अघि सन्दिप जोराले २०१९ जनवरीमा युएई बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय डेब्युमा अविजित ५३ रन बनाएका थिए। कुशल भुर्तेल र आसिफ शेखले पनि डेब्युमा अर्धशतक बनाएका छन्। कुशलले खेलमा ६२ रन बनाए जुन डेब्यु टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा नेपाली ब्याट्सम्यानको सर्वाधिक स्कोर हो। आसिफले बनाएको ५४ रन डेब्युमा दोश्रो सर्वाधिक र जोराको ५३ रन तेश्रो सर्वाधिक स्कोर हो।

४. कुशल र आसिफको विश्व कीर्तिमान

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्ड बिरुद्ध डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेखले ११६ रनको ओपनिंग साझेदारी गर्दै नयाँ विश्वकीर्तिमान बनाएका छन्। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै डेब्यु गरिरहेका दुई खेलाडीले शतकीय साझेदारी गरेको यो नै पहिलो अवसर हो। यस अघि डेब्यु गरेका दुई खेलाडीले गरेको सर्वाधिक साझेदारी ९० रनको थियो जुन मोजाम्बिकका डामियो कौअना र एफए कोस्साले २०१९ मा मलावी बिरुद्ध कायम गरेका थिए। दक्षिण अफ्रिकी ओपनर ज्याक कालिस र ग्रेम स्मिथले सन् २००५ मा न्युजिल्यान्ड बिरुद्ध डेब्युमा ८४ रनको साझेदारी गरेका थिए।

यस अघि पारस खड्का र ज्ञानेन्द्र मल्लले नेपालको लागि डेब्यु गर्ने क्रममा हंगकंग बिरुद्ध २०१४ टि-२० विश्वकपमा ८० रनको साझेदारी गरेका थिए जुन नेपालको लागि कीर्तिमानी साझेदारी थियो। पारस र ज्ञानेन्द्रको उक्त साझेदारी अहिले पनि डेब्यु गरेका खेलाडी बीच भएको विश्वकै सातौँ ठुलो साझेदारी हो।

५. ठुलो विकेट अन्तरको जित 

९ विकेटको जित नेपालको टि-२० अन्तर्राष्ट्रियमा नेदरल्याण्ड बिरुद्ध विकेटको आधारमा सबैभन्दा ठुलो जित हो। यस अघि नेपालले विकेटको आधारमा नेदरल्याण्डसंग सबैभन्दा ठुलो जित ४ विकेटको जित थ्योई जुन जित २०१९ ओमान सिरिजमा नेपालले दर्ता गरेको थियो। समग्रमा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमै ९ विकेटको जित समग्रमा नेपालको ठुलो जित हो। नेपालले हालसम्म टि-२० अन्तर्राष्ट्रिय खेल यो भन्दा ठुलो विकेट अन्तरले जितेको छैन। यस अघि नेपालले सिंगापुर र थाइल्याण्डलाई समान ९ विकेटले पराजित गरेको थियो।

६. धेरै बल बाँकी रहंदै जित 

नेदरल्याण्डले दिएको १३७ रनको लक्ष्य नेपालले ३० बल बाँकी रहँदै जित्न सफल भयो जुन नेदरल्याण्ड बिरुद्ध नेपालको बल बाँकी रहेक आधारमा सबैभन्दा छिटो जित हो। यस अघि नेदरल्याण्ड बिरुद्ध नेपालले सबैभन्दा छिटो २ बल बाँकी रहंदा जित दर्ता गरेको रेकर्ड थियो।

समग्र टि-२० अन्तर्राष्ट्रियमा पनि ३० बल बाँकी रहँदै नेपालले दर्ता गरेको जित दोश्रो छिटो जित हो। सबैभन्दा धेरै बल बाँकी रहँदै जितको रेकर्ड भने नेपालले गत वर्ष थाइल्याण्ड बिरुद्ध बनाएको थियो। एसीसी टि-२० इस्टर्न रिजनमा नेपालले ८७ बल बाँकी रहँदै थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य पछ्याएको थियो।

७. पावरप्लेमा सर्वाधिक रन 

नेदरल्याण्डले दिएको १३७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो पावरप्लेको ६ ओभरमा विकेट नगुमाई ६६ रन बनाएको थियो। नेदरल्याण्ड बिरुद्ध नेपालले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो ६ ओभरमा बनाएको यो नै सर्वाधिक रन हो। यस अघि नेपालले नेदरल्याण्ड बिरुद्ध पावरप्लेमा बनाएको सर्वाधिक रन ३१ थियो जुन २०१५ मा बनाएको थियो।

नेपालको समग्र टि-२० अन्तर्राष्ट्रिय इतिहासमै पावरप्लेमा बनेको ६६ रन दोश्रो सर्वाधिक हो। पावरप्लेमा नेपालको सर्वाधिक रन भुटान बिरुद्धको ८१ रन हो जुन नेपालले २०१९ को साग गेम्समा बनाएको थियो।

८. नेदरल्याण्डको खराब हारको रेकर्ड 

९ विकेट अन्तरले नेदरल्याण्डले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस अघि एक पटक मात्र हार बेहोरेको थियो। २०१४ टि-२० विश्वकपमा नेदरल्याण्डलाई श्रीलंकाले ९ विकेटले पराजित गरेको थियो जति बेला नेदरल्याण्डले श्रीलंकालाई मात्र ४० रनको लक्ष्य दिएको थियो। त्यसपछि ९ विकेटको अन्तरले नेदरल्याण्ड पराजित भएको इतिहासमै मात्र दोश्रो पटक हो। यस्तै ३० बल बल बाँकी रहेको आधारमा नेदरल्याण्डको इतिहासकै हो चौथो ठुलो हार हो। यस अघि नेदरल्याण्डलाई २०१४ मा श्रीलंकाले ९० बल बाँकी रहंदा, केन्याले २०१३ मा ४६ बल बाँकी रहंदा तथा स्कटल्याण्डले २०१९ मा ४० बल बाँकी रहंदा पराजित गरेको थियो।

सम्बन्धित 

https://wicketnepal.com/nep-beat-nl-1st-t20i-wn21/

https://wicketnepal.com/ysto-cha-nepal-netherland-t20-cric/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy