त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा नेपालसंग बिशाल अन्तरले पराजित भएपछि नेदरल्याण्ड क्रिकेट टिमका कप्तान पिटर सिलरले नेपाली क्रिकेट टिमको तारिफ गरेका छन्। सिरिजको पहिलो खेलमा नेदरल्याण्डले दिएको १३७ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर १५ ओभरमा भेटायो।
खेल पछि प्रतिक्रिया दिने क्रममा सिलरले नेपाली टिमबाट पाठ सिकेको प्रतिक्रिया दिए – “हामीले नेपालबाट क्रिकेट शिक्षा प्राप्त गर्यौं , उनीहरुले यस अघि भन्दा भिन्न प्रकारको एटिट्युड देखाए”
नेदरल्याण्डले दिएको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दै शतकीय साझेदारी गर्दै नेपालको जित सहज बनाएका थिए।
सिलरले पहिलो इनिंग्समा पिच दोश्रो इनिंग्स भन्दा खराब खेलेको भन्ने प्रश्नमा पिच भन्दा नेपालको बलिंग राम्रो भएको बताए –
“पिच भन्दा पनि नेपालको बलिंग राम्रो थियो। उनीहरुले हामीले भन्दा बढी राम्रो ठाउँमा बल फाले, सोमपाल र करनले सुरुवातमा जुन लम्बाईमा बल फाले त्यो ब्याट्सम्यानलाई खेल्न मुस्किल थियो। त्यसको बिपरित हामीले जब माथि बल फाल्यौं हामीले पिटाई खायौं” खेलमा नेपाली बलरहरुले छोटो लेन्थमा बल फालेका थिए।

नेपाली बलरको सोहि लम्बाईको बलिंगले गर्दा नेदरल्याण्डले स्क्वायरतर्फ खेल्नु परेको उनले बताए – “हामि स्क्वायरमा खेल्ने प्रयास गरि रहेका थियौं भने उनीहरुले सिधा खेले।”
सिलरले नेपाली दर्शकको पनि तारिफ गरे – “हामीले यस्तो दर्शक होल्याण्डमा पाउदैनौ। उनीहरुलाई चुप लगाउन सकिएको भए राम्रो हुन्थ्यो तर त्यसो गर्न सकेनौं। हामीले धेरै सुनेका थियौं र महसुस गर्न पाउदा गज्जब लाग्यो।”
“हामीले प्रस्तुत गरेको क्रिकेट प्रति हामि लज्जित छौँ , फ्यानहरुले अझ राम्रो क्रिकेट हेर्न पाउनु पर्छ।”
खेलपछि प्रतिक्रिया दिने क्रममा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले नेपालले उत्कृस्ट क्रिकेट खेलेको बताए – “समग्रमा भन्दा हामीले उत्कृस्ट मध्येको क्रिकेट खेल्यौं। सुरुवातमा फिल्डिंग राम्रो भएन तर त्यसपछि बलरहरुले राम्रो गरे।”
मल्लले पारस खड्काको अनुपस्थितिमा नेपालले नयाँ ओपनिंग जोडी पाएको खुलासा गर्दै कुशल र आसिफको तारिफ गरे –
“कुशल र आसिफले पहिलो खेलमा यस्तो खेल्नु तारिफयोग्य छ , रेकर्डले पनि भन्छ, म्याचनै लिएर जानु उत्कृस्ट कुरा हो, मैले देखेको मध्ये उत्कृस्ट हो।”
“हामीले सधै चाहिरहेको त्यही थियो , युवा खेलाडीहरुले मौका मात्रै पाउने हैन म्याच जिताउन सक्छन् भन्ने गरेर देखाए आज”
सिरिज अन्तर्गत नेपालले दोश्रो खेल मलेसिया बिरुद्ध सोमबार खेल्ने तालिका रहेको छ।
यो पनि पढ्नुस
https://wicketnepal.com/kushal-aasif-world-record-wn21/
https://wicketnepal.com/nep-beat-nl-1st-t20i-wn21/
