नेपाली राइनोजलाई होस्टन ओपनको उपाधि, ४० हजार डलर पुरस्कार जित्न सफल

२०७८ बैशाख ६, सोमबार ११:४८

अमेरिकाको नेपाली क्लब नेपाली राइनोज क्रिकेट क्लबले अमेरिकाको ‘होस्टन ओपन २०२१’ प्रतियोगिताको उपाधि जितेको छ। उपाधि सहित नेपाली राईनोज क्लबले ४० हजार डलर प्राप्त गर्यो।

आइतबार राति सम्पन्न रोमान्चक खेलमा नेपाली राइनोजले होस्टन स्टालियन्सलाई २ रनले पराजित गरेको हो। होस्टन स्टालियन्स टिममा वेस्टइन्डिज राष्ट्रिय क्रिकेटर रहकिम कर्नवाल, शर्फेन रुथरफोर्ड तथा पाकिस्तानी क्रिकेटर सामी अस्लम पनि रहेका थिए। यस्तै नेपाली राइनोज टिममा नेपालबाट प्रतियोगिता खेल्न अमेरिका पुगेका बसन्त रेग्मी र पृथु बास्कोटा तथा युएई क्रिकेटर रोहन मुस्तफा,क्यानडाका रायन पठान तथा अमेरिकी क्रिकेटर एल्मोर हचकिन्सन सहभागी रहेका थिए।

खेलमा नेपाली राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको होस्टन स्टालियन्सले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १७२ रन मात्र बनाउन सक्यो।

होस्टन स्टालियन्सको लागि ओपनर रहकिम कर्नवालले सर्वाधिक ४८ रन बनाए भने शयान जहाँगिरले ३९ रन तथा हमाद आजमले २९ रन योगदान दिए।


नेपाली राइनोजको बलिंगमा अमेरिकी यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका कार्तिक गट्टेपालिले सर्वाधिक ४ विकेट लिए। यस्तै रोहन मुस्तफा, एल्मोर हचकिन्सन र रायन खान पठानले समान १ विकेट लिए। बसन्त रेग्मीले किफायती बलिंग गर्दै ४ ओभरमा मात्र १९ रन खर्चे पनि विकेटविहिन रहे।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपाली राइनोजले २० ओभरमा ८ विकेट क्षेतीमा १७४ रन बनाएको थियो।

नेपाली राइनोजको लागि रायन खान पठानले सर्वाधिक ५१ रन, सुशान्त मोदानीले ४९ रन, पेस्टन म्याथुजले २४ रन तथा पृथु बास्कोटाले १८ रन योगदान दिए।

होस्टन स्टालियन्सको लागि रहकिम कर्नवालले सर्वाधिक ५ विकेट, ओमेर खानले २ विकेट तथा नजफ शाहले १ विकेट लिए।

सेमीफाइनलमा नेपाली राइनोजले केनार लुइस, जर्माइन ब्ल्याकवुड, शन फिन्डले, सरबजित लड्डा जस्ता अन्तर्राष्ट्रिय क्रिकेटर आवद्ध टिम होस्टन स्टार्सलाई ८ विकेटले पराजित गरेको थियो।

यस्तो रह्यो बसन्त रेग्मी र पृथु बास्कोटाको प्रदर्शन 

प्रतियोगितामा सहभागिता जनाउन नेपालबाट राष्ट्रिय क्रिकेटर बसन्त रेग्मी र पृथु बास्कोटा अमेरिका पुगेका थिए। प्रतियोगितामा बसन्त रेग्मीले ७ खेलमा ९ विकेट लिंदै प्रतियोगिताको पाँचौ सर्वाधिक विकेटकर्ता रहे। उनले ७ खेलमा २७ ओभर बलिंग गर्दै ५.४८ रन प्रतिओभर रन खर्चिए। यस्तै पृथु बास्कोटाले भने ७ खेलमा २३.६० को औशतले ११८ रन बनाउन सके।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy