IPL : पडीक्कलको शतक र कोहलीको किर्तिमान, बैंगलोरको लगातार चौथो जित

२०७८ बैशाख ९, बिहीबार २३:२२

देभदत्त पडीक्कलले शतक बनाउदै बिराट कोहलीसंग कीर्तिमानी साझेदारी गर्दा १४ औं आईपीएल अन्तर्गत १६ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्स बिरुद्ध १० विकेटको शानदार जित दर्ता गरेको छ।

मुम्बई स्थित वानखेडे स्टेडियममा राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंगलोरले १६.३ ओभरमा विकेट नगुमाई पुरा गर्यो।

आईपीएल इतिहासमा विकेट नगुमाई पुरा गरीएको हो संयुक्त रुपमा दोश्रो ठुलो लक्ष्य हो। विकेट नगुमाई सबैभन्दा धेरै लक्ष्य २०१७ मा कोलकाताका गौतम गम्भीर र क्रिस लिनले गुजरात बिरुद्ध १८४ रनको लक्ष्य पछ्याएका थिए। गत वर्ष आईपीएलमा चेन्नाईका फाफ डु प्लेसी र शेन वाटसनले पन्जाब बिरुद्ध १८१ रनकै ओपनिंग साझेदारी गर्दै जित दिलाएका थिए।

लक्ष्य पछ्याउने क्रममा बैंगलोर ओपनर देभदत्त पडीक्कल र बिराट कोहलीले १८१ रनको ओपनिंग साझेदारी गरे। आईपीएल इतिहासमै बैंगलोरको पहिलो विकेटको लागि यो सर्वाधिक साझेदारी हो।

आईपीएलमा पहिलो शतक बनाउने क्रममा पडीक्कलले अविजित १०१ रन बनाए जुन क्रममा ५२ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। उनले ५१ बलमा शतक पुरा गरेका थिए। आईपीएलमा शतक बनाउने उनि तेश्रो कान्छो उमेरको खेलाडी पनि बनेका छन्। यस अघि मनिष पाण्डेले १९ वर्ष २५३ दिनको उमेरमा तथा रिशभ पन्तले २० वर्ष २१८ दिनको उमेरमा शतक बनाएका थिए।

कोहली आईपीएलमा ६ हजार रन बनाउने पहिलो ब्याट्सम्यान बने

यस्तै कप्तान बिराट कोहलीले ४७ बलमा ६ चौका र ३ छक्का मद्दतले ७२ रन बनाए। कोहली आईपीएलमा ६ हजार रन पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। उनको कुल रन संख्या ६०२१ पुगेको छ। कोहली पछि दोश्रो धेरै रन बनाउने ब्याट्सम्यान सुरेश रैनाले ५,४४८ रन बनाएका छन्।

यस अघि टस हारेर ब्याटिंग गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १७७ रन बनाएको थियो।

राजस्थानको लागि शिभम दुबेले सर्वाधिक ४६ रन बनाए जुन क्रममा ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरे। राहुल तेवतियाले २३ बलमा ४ चौका र २ छक्का मद्दतले ४० रन बनाए। रियान परागले २५ रन, कप्तान संजु स्यामसनले २१ रन तथा क्रिस मोरिसले १० रन योगदान दिए।

४३ रनमा ४ विकेट गुमाएको अवस्थामा शिभम दुबेले रियान परागसंग ६६ रनको साझेदारी गरेका थिए। त्यसपछि राहुल तेवतियाले क्रिस मोरिससंग सातौँ विकेटको लागि ३७ रनको साझेदारी गरे।

बैंगलोरको बलिंगमा मोहम्मद सिराज ( ४-०-२७-३ ) र हर्षल पटेल ( ४-०-४७-३ ) ले समान ३ विकेट लिए। कायल जेमीसन, केन रिचर्डसन र वासिंगटन सुन्दरले समान १ विकेट लिए।

जितपछि बैंगलोर ४ वटा खेलमा शतप्रतिशत जितको साथ ८ अंक बटुल्दै पुनः लिग अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ। हार पछि राजस्थान ४ खेलमा १ खेल र ३ हार पछि पुछारमा पुगेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/nep-vs-mal-11-kirtiman-karan-wn21/

https://wicketnepal.com/icc-ranking-kushal-shirsh-100/

https://wicketnepal.com/sandeep-100th-t20-kirtiman-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy