इतिहासकै विशाल जित दर्ता गर्दै नेपालले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

२०७८ बैशाख ११, शनिबार १६:४३

नेदरल्याण्डलाई १४२ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले त्रिकोणात्मक टि-२० सिरिजको उपाधि जितेको छ।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा नेपालले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले १७.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो।

१४२ रनको जित रन अन्तरको आधारमा नेपालको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमै सबैभन्दा ठुलो जित हो। यस अघि नेपालले २०१९ साग क्रिकेटमा भुटानलाई १४१ रनले पराजित गरेको थियो। त्यस बेला नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ९५ रन मात्र बनाउन सकेको थियो।

नेपालको इतिहासमै टि-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा यो नै नेपालले फाइनल जित्दै जितेको पहिलो उपाधि हो। यस अघि नेपालले युएई र मलेसियालाई टि-२० अन्तर्राष्ट्रिय सिरिजमा भने पराजित गरेको थियो। यस्तै घरेलु भुमिमा नेपालको यो पहिलो टि-२० सिरिज जित पनि हो। यस्तै घरेलु भुमिमा नेपालले ११ वर्ष पछि पहिलो उपाधि जितेको छ। नेपालले घरेलु भुमिमा अन्तिम पटक सन् २०१० मा अमेरिकालाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ प्रतियोगितामा पराजित गर्दै उपाधि जितेको थियो।

विशाल लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले अत्यन्त खराब सुरुवात गर्यो जसले पहिलो ७ विकेट ५४ रनको योगफलमै गुमाउन पुग्यो। कुनै पनि बेला नेदरल्याण्डलाई नेपालले खेलमा हावी हुन दिएन।

करन केसीले ३ विकेट लिए

नेदरल्याण्डको लागि सेबास्टिएन ब्राटले सर्वाधिक २६ रन, म्क्यक्स ओ डोडले २० रन तथा पिटर सिलारले १३ रन बनुनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिंगमा करन केसीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा ११ रन मात्र खर्चिए। सन्दिप लामिछाने ( ४-०-२६-२ ) र कमल सिंह ऐरी ( ४-०-२२-२ ) ले समान २ विकेट लिए।  अविनाश बोहराले १ विकेट लिए।

यस अघि नेपालले टस हारेर ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक टिम योगफल हो। यस अघि नेपालले भुटान बिरुद्ध २०१९ साग क्रिकेटमा ३ विकेट गुमाएर २३६ रन बनाएको थियो।

नेपालको लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३० रनको साझेदारी गरे। ८ बलमा १ चौका र २ छक्का मद्दतले १६ रन बनाएका आसिफलाई लेग स्पिनर फिलिपे बोसेभेनले तेश्रो ओभरमा लंग अफमा क्याच आउट गराए।

दोश्रो विकेटको लागि भुर्तेलले कप्तान ज्ञानेन्द्र मल्लसंग ४७ रन जोडे। १९ बलमा ३ चौका र २ छक्का मद्दतले ३३ रन बनाएका मल्ल १० औं ओभरमा बोसेभेनको दोश्रो शिकार बने। मल्ल मीड अफमा क्याच आउट हुन पुगे।

कुशल भुर्तेलले सिरिजको चौथो अर्धशतक बनाए

तेश्रो विकेटको लागि भुर्तेलले कुशल मल्लसंग ७६ रनको साझेदारी गरे। १६ औं ओभरमा भुर्तेललाई सेबास्टिएन ब्राटले क्याच आउट गराए। त्यस अघि भुर्तेलले सिरिजमा चौथो अर्धशतक बनाउने क्रममा ५३ बलमा ८ चौका र ३ छक्का मद्दतले ७७ रन बनाए।

भुर्तेलको विकेट पछि कुशल मल्ल र दिपेन्द्र ऐरीले आक्रामक ब्याटिंग गर्दै नेपालको योगफल २ सय पार गराए। अन्तिम ५ ओभरमा नेपालले मात्र १ विकेट गुमाएर ८१ रन बनायो। कुशल मल्ल र दिपेन्द्र ऐरीले चौथो विकेटको लागि ७५ रनको साझेदारी गरे।

कुशल मल्लले अविजित ५० रन बनाए जुन क्रममा २४ बलमा २ चौका र ५ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले १८ बलमा ५ चौका र ३ छक्का मद्दतले अविजित ४८ रन बनाए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मल्लको यो पहिलो अर्धशतक हो।

नेदरल्याण्डको बलिंगमा लेग स्पिनर फिलिपे बोसेभेनले २ विकेट लिए जुन क्रममा ४ ओभरमा ४३ रन खर्चिए। सेबास्टिएन ब्राटले १ विकेट लिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/abinash-mom-vs-mal-wn21/

https://wicketnepal.com/hanchu-bhaneko-thiye-ramro-ball-paryo/

https://wicketnepal.com/pbks-vs-mi-n21-m17th-rep/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy