“नेपालले एसोसिएट क्रिकेटमा नयाँ स्तर निर्धारण गरेको छ।” नेदरल्याण्ड कप्तान सिलार

२०७८ बैशाख १२, आईतवार १०:२२

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालसंग १४२ रनको विशाल अन्तरको हार पछि नेदरल्याण्ड क्रिकेट टिमका कप्तान पिटर सिलारले नेपाली क्रिकेट टिमको तारिफ गरेका छन्। प्रतियोगितामा नेपालले टि-ट्वान्टी फर्म्याटमा खेल्ने शैली परिवर्तन गरेको र उत्कृस्ट क्रिकेट खेल्दै एसोसिएट राष्ट्रहरुलाई एउटा नयाँ स्तर निर्धारण गरेको बताएका छन्।

नेपालले प्रतियोगिताको उपाधि जित्ने क्रममा नेदरल्याण्डसंग टस हारेर ब्याटिंग गर्दै २३८ रनको विशाल योगफल तयार गरेको थियो। जवाफमा ब्याटिंग गरेको नेदरल्याण्डले ९६ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेपछि नेपालले टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै आफ्नो विशाल रन अन्तरको जित दर्ता गर्यो।

कप्तान सिलारले खेलमा आफ्नो बलरले राम्रो सुरुवात गरेता पनि कुशल भुर्तेलको तेश्रो ओभरमा क्याच छुटे पछि कुनै पनि कुरा आफ्नो टिमको पक्षमा नगएको बताए –

“मलाई लाग्छ पलले ( भान मिकीरन ) पहिलो ओभर राम्रो सुरुवात गरेका थिए। चौथो ओभरमा पोइन्टमा कुशल भुर्तेलको क्याच छोड्नु दुर्भाग्यपूर्ण थियो। त्यसपछि कुनै पनि कुरा हाम्रो पक्षमा गएन। फाइनलमा तपाई २४० रन लक्ष्य दिनु हुन्छ भने सधै मुस्किलनै हुने गर्छ।”

इनिंग्सको चौथो ओभरमा बास डी लिडेको बलमा १३ रन बनाएका कुशल भुर्तेलको क्याच पोइन्टमा बसेका फिल्डरले छुटाएका थिए। त्यसपछि भुर्तेलले प्रतियोगितामा व्यक्तिगत चौथो अर्धशतक बनाउने क्रममा ७७ रन बनाए।

सिलारका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने हो भने आफ्नो टिमले स्तर सुधार गर्नु पर्नेछ –

“केहि कुरा यो प्रतियोगिताबाट सिकेका छौँ। यदी तपाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न चाहनुहुन्छ भने हामीले थोरै सुधार गर्नु पर्छ, वास्तवमा थोरै हैन अलि धेरै सुधार गर्नुपर्छ।”

सिलारले नेपाल २०१९ को टि-२० विश्वकप छनोट प्रतियोगितामा छनोट हुन असफल भए पछि अर्कै टिमको रुपमा आएको र टि-ट्वान्टी खेल्ने शैली परिवर्तन गरेको बताए –

“२०१९ को विश्वकप छनोटमा छनोट हुन असफल भए पछि जसरि नेपाली टिम आएको छ उसले टि-२० खेल्ने शैली परिवर्तन गरेको छ। यो कुरा मैले पहिलो खेलमा पनि भनेको थिए। जुन शैलीले उनीहरुले खेले यो आश्चर्यजनक त भन्दिन तर उत्कृस्ट थियो।”

नेपालले एसोसिएट राष्ट्रहरुको लागि नयाँ स्तर निर्धारण गरेको सिलारले बताए – “नेपालले एसोसिएट क्रिकेटमा टि-ट्वान्टीमा नयाँ स्तर निर्धारण गरेको छ।”

सिलारका अनुसार प्रतियोगितामा नेपालले सबै खेलमा निरन्तर राम्रो प्रदर्शन गरेको जसबाट आफ्नो टिमले पाठ सिक्नुपर्नेछ –

“मलाई लाग्छ नेपालले प्रतियोगिताको पाँच मध्ये पाँचवटै खेलमा राम्रो गर्यो जुन कुरा हामीले सिक्नु पर्छ। यदी तपाई प्रतियोगिता जित्न चाहनुहुन्छ भने सबै खेलमा राम्रो हुनु पर्छ , एउटा-दुईवटा मात्र खेलमा हैन।”

प्रतियोगितामा नेदरल्याण्डका युवा खेलाडीहरुले राम्रो अनुभव संगालेको विश्वास उनले व्यक्त गरे।

“आशा छ यी खेलाडीहरुले राम्रो अनुभव संगालेका छन्। तर एसोसिएट राष्ट्रले नेपालमा जस्तो वातवरण पाउदैन। सबैले निकै मेहनत गरेका थिए यो मौका पाउनको लागि। मलाई लाग्छ उनीहरुले देखे कि अन्तर्राष्ट्रिय क्रिकेट २-३ स्तर माथि हुन्छ।”

“उनीहरु परिपक्व खेलाडीहरु हैनन्। धेरै जना निकै युवा छन्। १७ -१८ वर्ष उमेरका छन्। सम्भवतः उनीहरुले देखे होला कसरि नेपालले खेल्यो।

फाइनल पछि नपाई दर्शकहरुलाई धन्यवाद दिंदै नेदरल्याण्ड टिम

नेदरल्याण्डका अनुभवी खेलाडीहरु रायन टेन डोस्काटे, रोल्फ भान डर मर्वे, टिम भान डर गुगटेन, फ्रेड क्लासेन, ब्रेण्डन ग्लोभर, कोलिन एंकरम्यान बिना नेपाल भ्रमणमा आएको थियो। २१ वर्षीय बास डी लिडे, २० वर्षीय फिलिपे बोसेभेन, १७ वर्षीय आर्यन दत्त जस्ता युवा खेलाडी लिएर नेदरल्याण्ड नेपाल आएको थियो।

सिलारले नेपाली समर्थकहरुको तारिफ गरे –

“हामी जब देखि यहाँ आयौं, यहाँका मानिसहरुबाट माया र सम्मान पायौं। आयोजनाको हिसाबले सबै कुरा गजबको थियो। दर्शकहरुलाई मैदान प्रवेश गर्न दिईएन तै पनि धेरै जना वरपर बसेर खेल हेरे। एउटा अन्तर्राष्ट्रिय क्रिकेटरले यस्तै वातावरण चाहन्छ।”

उनले नेपालले नेदरल्याण्ड भ्रमण गरेको र पुनः नेपाल आउने चाहना व्यक्त गरे –

“आशा गर्छौ नेपालले पनि नेदरल्याण्ड भ्रमण गर्नेछ र पुनः नेपाल पनि आउन पाउनेछौँ।”

यो पनि पढ्नुस 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy