नेपाली खेलाडी सुनम गौतम महँगो मूल्यमा अस्ट्रेलियाको ब्रिसबेन प्रिमियर लिग खेल्न छनोट

२०७८ बैशाख १६, बिहीबार २१:३२

नेपाली खेलाडी सुनम गौतम महँगो मूल्यमा अस्ट्रेलियाको ब्रिसबेन प्रिमियर लिग खेल्न छनोट भएका छन्।

लिगको बिहिबार सम्पन्न अक्सनमार्फत सुनमलाई लिगको टिम बेसाइड पाईरेट्सले टिममा समाबेश गरेको हो। बेसाइड पाईरेट्स टिमको मालिक चर्चित पूर्व अस्ट्रेलियन क्रिकेटर तथा अस्ट्रेलियन राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक समेत रहीसकेका डेरेन लेहमन पनि रहेका छन्। लिगमा क्रिस लिन, उस्मान ख्वाजा जस्ता अस्ट्रेलियन राष्ट्रिय क्रिकेटरहरुको समेत टिम रहेको छ।

सुनमलाई टिममा लिन बेसाइड पाईरेट्सले ५० हजार अस्ट्रेलियन डलर ( करिब ४६ लाख नेपाली रुपैयाँ )  खर्चेको हो। सुनमले आफ्नो व्यवस्थापक मार्फत लिगको अक्सनमा नाम दर्ता गराएका थिए।

सुनमको टिम बेसाइड पाईरेट्समा एन्ड्रु माइकल, नाथन मुरे, प्याट्रिक ग्याब्रियल डुले, जोश हेन्डरसन, ट्रेन्ट किप जस्ता खेलाडीहरु रहेका छन्।

ब्रिसबेन प्रिमियर लिगको पहिलो संस्करण यो वर्ष अगस्टमा आयोजना हुनेछ। लिगमा ८ फ़्रेन्चाइज् टोलि सहभागी रहेका छन् जसमा डार्लिंग डीन्गोज, बेसाइड पाईरेट्स, मोरेटोन म्याजिक, नर्दर्न किंग्स, साउदर्न साईक्लोन्स , कोस्टल मार्लिन्स, गोल्डकोस्ट वेभराइडर्स र वेस्टर्न पावर रहेका छन्  लिग भारतको इन्डीयन प्रिमियर लिगको ढांचामा आयोजना हुन लागेको हो।

“लामो समय देखि यो अवसरको पर्खाइमा थिएँ” – गौतम

ब्रिसबेन प्रिमियर लिगमा छनोट भएपछि विकेटनेपालसंग कुराकानीमा सुनम गौतमले खुसि व्यक्त गर्दै राम्रो प्रदर्शन गर्नमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् –

“मलाई धेरै खुसि लागिरहेको छ। साथै कसरि टिममा राम्रो योगदान दिने र टिमलाई च्याम्पियन बनाउन सकु भन्ने लागिरहेको छ। यो अवसर र एक्सपोजरको म लामो समय देखि पर्खाइमा थिए। म मैदानमा उत्रन आतुर छु।”

लिगमा ठुला टिमहरुको समेत नजर हुनाले लिगमा राम्रो गर्न सके अझै माथि अवसर खुल्न सक्ने विश्वास गौतमले व्यक्त गरे।

को हुन् सुनम

अस्ट्रेलियामा लामो समय देखि घरेलु क्रिकेट खेल्दै आएका सुनम दायाँ हाते ब्याट्सम्यान हुन् भने उनि राम्रो दुसरा बलिंग पनि फाल्न सक्छन्। अस्ट्रेलियन क्रिकेटर स्टुवार्ट म्याकगिलले बिग ब्यास लिगको टिमहरुलाई सुनमलाई लिन गत वर्ष सिफारिस गरेपछि गौतम चर्चामा आएका थिए। गौतमले गर्ने दुसरा बलबाट म्याकगिल निकै प्रभावित भएका थिए।

नेपाली अन्डर-१७ र अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका सुनम गौतम २०१२ मा अस्ट्रेलिया प्रस्थान गरेका थिए। उनले सन् २००५ मा मलेसियामा आयोजित एसीसी अन्डर-१७ कपमा नेपालको यु-१७ टिमबाट खेलेका थिए भने २००७ मा नेपाली यु-१९ टिममा स्थान बनाएका थिए। उनले २००९ मा मेरेलेबोन क्रिकेट क्लबको नेपाल भ्रमणमा नेपाल क्रिकेट संघ-११ बाट समेत खेलेका थिए।

२०१२ मा नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण टिममा हुँदा गौतम अस्ट्रेलियातर्फ प्रस्थान गरेका थिए।

डेभिड वार्नरसंग सुनम गौतम

अस्ट्रेलिया पुगेपछि त्यहाँ अस्ट्रेलियाको भिक्टोरियन प्रिमियर लिग क्रिकेटमा ग्रिन्भेल कंगारुजबाट पहिलो लेभेलको क्रिकेट खेल्ने सुनम ४ वर्ष त्यहाँ खेलेपछि गत वर्ष देखि साउथ अस्ट्रेलिया प्रिमियर क्रिकेट खेल्दै आएका छन्। त्यहाँ उनि ‘साउथर्न डिस्ट्रिक’ क्लब देखि खेल्दै आएका छन्।

सुनम खेल्ने साउथ अस्ट्रेलिया प्रिमियर क्रिकेटमा एडम जाम्पा, ट्राभीस हेड, केन रिचर्डसन जस्ता खेलाडीहरु समेत खेल्ने गरेका छन्। सुनमको टिमको प्रशिक्षक वेस्टइन्डिजका पूर्व स्टार क्रिकेटर कार्ल हुपर रहेका छन्।

२ वर्ष अघि सुनमले भिक्टोरियन प्रिमियर लिग क्रिकेटमा ग्रिन्भेल कंगारुजबाट शतक बनाउदै अस्ट्रेलियाको घरेलु क्रिकेटमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका थिए। त्यसैवर्ष उनलाई बिग ब्यास टिम मेलबर्न स्टार्सले ट्रायलको लागि बोलाएको थियो।

गौतम नेपालमा आयोजना हुँदा आएको प्रधानमन्त्री कप, एभरेस्ट प्रिमियर लिग जस्ता प्रतियोगिताहरुमा सहभागी हुँदै आएका छन्।

सम्बन्धित 

https://wicketnepal.com/bigbash-league-sunam-stuwart-mcgill-wn20/

https://wicketnepal.com/nepal-t20i-ranking-wn21-428/

https://wicketnepal.com/sandeep-feri-ipl-khelna-chahanchu-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy