डेब्युमै दोहोरो शतक बनाउदै कनवेले तोडे १२५ वर्ष पुरानो रेकर्ड

२०७८ जेष्ठ २०, बिहीबार २१:२६

न्युजिल्यान्डको इंग्ल्यान्ड भ्रमण अन्तर्गत दुई टेस्टको सिरिजमा डेब्यु गरेका न्युजिल्यान्ड ब्याट्सम्यान डेभोन कनवेले दोहोरो शतक बनाउदै १२५ वर्ष पुरानो कीर्तिमान तोडेका छन्।

टेस्ट अन्तर्गत टस जितेर ब्याटिंग गरेको न्युजिल्यान्डले पहिलो इनिंग्समा सम्पूर्ण विकेट गुमाएर ३७८ रन बनाएको थियो। यस क्रममा कनवेले ओपनिंग ब्याटिंग गर्दै अन्तिम विकेटको रुपमा आउट हुने क्रममा २०० रन बनाए। रन आउट हुँदै विकेट गुमाउनु अघि बायाँ हाते ब्याट्सम्यानले ३४७ बलमा २२ चौका र १ छक्का प्रहार गर्दै २०० रन बनाए।

कनवे टेस्ट क्रिकेट इतिहासमा इंग्ल्यान्डमा डेब्यु गर्ने क्रममा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन्। सन् १८९६ मा अर्थात् १२५ वर्ष अघि भारतीय ब्याट्सम्यान कुमार श्री रन्जितसिंहजीले अविजित १५४ रन बनाएका थिए जुन इंग्ल्यान्डमा डेब्यु गर्ने क्रममा यस अघिको सर्वाधिक व्यक्तिगत स्कोर रहेको थियो।

टेस्ट क्रिकेट इतिहासमा डेब्युमै दोहोरो शतक बनाउने कनवे मात्र सातौँ ब्याट्सम्यान बनेका छन्। पछिल्लो पटक टेस्ट डेब्युमा शतक बनाउने ब्याट्सम्यान कायल मेयर्सले यसै वर्ष बंगलादेश बिरुद्ध २१० रन बनाएका थिए भने सन् २००३ मा दक्षिण अफ्रीकाका ज्याक्स रुडोल्फले बंगलादेश बिरुद्ध २२२ रन बनाएका थिए।

कनवे लर्ड्स क्रिकेट मैदानमा डेब्युमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन्। यस अघि यो रेकर्ड सन् १९९६ मा भारतीय ब्याट्सम्यान सौरभ गांगुलीले १३१ रन बनाउदै आफ्नो नाम गरेका थिए। रोचक कुरा त के छ भने कनवे र गांगुली दुवैको जन्म एकै दिन अर्थात् जुलाई ८ तारिखमा भएको थियो।

टेस्ट क्रिकेटमा डेब्युमै शतक बनाउने कनवे १०९ औं क्रिकेटर हुन् भने न्युजिल्यान्डको १२ औं क्रिकेटर हुन्।टेस्ट डेब्युमा दोहोरो शतक बनाउने उनि मात्र दोश्रो विकेटकिपर ब्याट्सम्यान हुन्। विकेटकिपरको रुपमा टेस्ट डेब्युमा शतक बनाउने अर्का ब्याट्सम्यान श्रीलंकाका डन सर्धा ब्रेण्डन प्रियाँथु कुरुप्पु हुन् जसले सन् १९८७ मा न्युजिल्यान्ड बिरुद्ध अविजित २०१ रन बनाएका थिए।

यस्तै लर्ड्स क्रिकेट मैदानमा डेब्युमा शतक बनाउने उनि छैठौं क्रिकेटर हुन्।दक्षिण अफ्रीकामा जन्मिएका २९ वर्षीय कनवेले गत वर्ष वेस्टइन्डिज बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए भने यो वर्ष मार्चमा बंगलादेश बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

धेरैले पढेको 

https://wicketnepal.com/ned-vs-ire-1st-odi-wn21/

https://wicketnepal.com/pura-sijan-ipl-nakhelne-wn21/

https://wicketnepal.com/gbr-dubo-ropna-suru-photo/

https://wicketnepal.com/bcci-lai-samay-sima-tokyo-icc-wn21/

https://wicketnepal.com/icc-nirnaya-team-sankhya-badhyo-icc/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy