PSL : मुनरोले विस्फोटक ब्याटिंग गर्दा इश्लामावादको कीर्तिमानी जित

२०७८ जेष्ठ २९, शनिबार ०४:३८

कोलिन मुनरोले आक्रामक ब्याटिंग गर्दा इश्लामावाद युनाइटेड क्वेटा ग्ल्याडीएटर्सलाई १० विकेटले सहज पराजित गर्दै पाकिस्तान सुपर लिग अंक तालिकाको तेश्रो स्थानमा उक्लेको छ।

अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न लिगको १८ औं खेलमा क्वेटाले दिएको १३४ रनको लक्ष्य इश्लामावादले विकेटनै नगुमाई मात्र १० ओभरमै भेटायो।

पाकिस्तान सुपर लिग इतिहासमै १० ओभर बाँकी रहँदै टिमले लक्ष्य पछ्याएको यो पहिलो अवसर हो। यस अघि सन् २०१९ मा लाहोर बिरुद्ध पेशावरले ५९ बल बाँकी रहँदै लक्ष्य पछ्याएको थियो जुन रेकर्ड तोड्दै इश्लामावादले धेरै बल बाँकी रहँदै जितको रेकर्ड बनाएको छ।

कोलिन मुनरोले मात्र ३६ बलमा १२ चौका र ५ छक्का मद्दतले अविजित ९० रन बनाए भने उस्मान ख्वाजाले २७ बलमा ६ चौका र १ छक्का मद्दतले ४१ रन बनाए। प्लेयर अफ द म्याच चुनिएका न्युजिल्यान्डका ब्याट्सम्यानले २० बलमै अर्धशतक पुरा गरेका थिए। इनिंग्सको क्रममा उनले नसिम शाहले गरेको पहिलो ओभरमा ४ चौका सहित एकै ओभरमा १८ रन तथा जाहिद मोहम्मदले गरेको छैठौं ओभरमा २ छक्का र २ चौका सहित एकै ओभरमा २१ रन बनाएका थिए।

मुनरोले २० बलमै अर्धशतक बनाए

यस अघि टस हारेर ब्याटिंग गरेको क्वेटाले २० ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सकेको थियो। क्वेटाको लागि जेक वेदराल्डले सर्वाधिक ४३ रन, तथा आजम खानले २६ रन योगदान दिए। आन्द्रे रसेलले २ छक्का मद्दतले १३ रन मात्र बनाउन सके। इनिंग्सको अन्तिम ४ ओभरमा क्वेटाले मात्र १९ रन योगफलमा जोड्न सकेको थियो।

इश्लामावादको बलिंगमा हसन अलि ( ४-०-२४-२ ) , मोहम्मद वासिम ( ४-०-१२-२ ) र मुहम्मद मुसाले ( ४-०-३८-२ ) समान २ विकेट लिए। अकिफ जाभेद ( ४-०-१८-१ ) र कप्तान शदाव खानले ( ४-०-३३-१ ) ले समान १ विकेट लिए।

अंकतालिका : जित पछि इश्लामावाद ५ खेलमा ३ जित र २ हार बेहोर्दै ६ अंकका साथ तेश्रो स्थानमा उक्लेको छ। क्वेटा भने चौथो हार पछि ५ खेलमा मात्र १ जितको साथ २ अंक बटुल्दै पुछारमा रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy