ढाका प्रिमियर लिगको दौरान खराब व्यवहार तथा अम्पायरसंग भिडेका स्टार बंगलादेशी क्रिकेटर शाकिब अल हसनलाई आगामी ३ खेलको लागि निलम्बन गरिएको छ भने ५ हजार ८ सय डलर ( ६ लाख ७८ हजार रुपैयाँ ) जरिवाना समेत गरिएको छ।
लिगको शुक्रबार सम्पन्न मोहमदेन स्पोर्टिंग र अबहानी लिमिटेड बीचको खेलमा शाकिबले निक्रिस्ट व्यवहार प्रदर्शन गरेपछि सर्वत्र आलोचित बनेका थिए। मोहमदेन स्पोर्टिंग क्लबका कप्तान समेत रहेका शाकिबले ढाका प्रिमियर लिगको आठौँ, नवौं, दशौँ र एघारौं राउण्ड म्याच गुमाउनेछन्।
बंगलादेशको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा करिब ६ सय विकेट तथा १० हजार भन्दा बढी रन बनाएका शाकिब विश्व क्रिकेटकै उत्कृस्ट अलराउण्डर मध्ये गनिने गर्छन्।
के भएको थियो
मोहमदेन स्पोर्टिंग डीएलएस मेथडमा विजय भएको खेलमा शाकिबले दुई पटक रिसमा होस् गुमाएका थिए।
हसन बिपक्षी टिम अबहानी लिमिटेडका ब्याट्सम्यान मुस्फिकुर रहिम बिरुद्ध हसन बलिंग गरिरहेका थिए। सो क्रममा एउटा बल रहिमको प्याडमा लागेको थियो जसपछि हसनले एलबिडब्लुको अपिल गरे जसलाई अम्पायरले नकारे। अम्पायरको फैसला हसनलाई चित्त नबुझेपछि उनले तुरुन्तै स्टम्पलाई लातले हान्दै ढाले जसपछि अम्पायरसंग बहस समेत गर्न लागे। टिमका अन्य खेलाडीले समेत उनलाई शान्त बनाउन कोशिस गरेका थिए।
Shit Shakib..! You cannot do this. YOU CANNOT DO THIS. #DhakaLeague It’s a shame. pic.twitter.com/WPlO1cByZZ
— Saif Hasnat (@saifhasnat) June 11, 2021
शाकिब त्यतिमै सिमित भएनन्। खेलकै क्रममा उनले अर्को पटक पनि सिमा आक्रोशको सिमा पार गरे। अम्पायरसंग बहस गर्दै गर्दा हसनले स्टम्पनै उखालेर पिचमा फालिदिए। छैठौं ओभरको पाँचौ बल पछि अम्पायर महफुजुर रहमानले ग्राउण्डस्टाफलाई हल्का वर्षा सुरु भएकोले कभर ल्याउन इशारा गरेका थिए। त्यसपछि शाकिब अम्पायरतर्फ केहि भन्दै दगुरे र सो क्रममै नन स्ट्राइक इन्डतर्फको स्टम्प उखालेर फालिदिए। खेल रोक्न पर्ने गरि वर्षा नभएको शाकिबको धारणा थियो।
One more… Shakib completely lost his cool. Twice in a single game. #DhakaLeague Such a shame! Words fell short to describe these… Chih… pic.twitter.com/iUDxbDHcXZ
— Saif Hasnat (@saifhasnat) June 11, 2021
शाकिबले मागे माफी
शाकिबले खेलपछि सामाजिक संजालमार्फत आफूले रिसको आवेगमा होस् गुमाएको स्वीकार गर्दै माफी मागेका थिए।
“प्रिय समर्थकहरु, खेलको दौरान मैले आवेगमा होस् गुमाएको घटना प्रति म माफी माग्छु। म जस्तो अनुभवी खेलाडीले यस्तो प्रतिक्रिया देखाउनु हुँदैन थियो, तर कहिलेकाहीं दुर्भाग्यवस यस्तो गल्ति हुने गर्छ। म टिमहरु, व्यवस्थापन, प्रतियोगिता अफिसियल र आयोजक समक्ष यो मानवीय गल्तिको लागि माफी माग्छु र आशा गर्छु कि यस्तो गल्ति भविष्यमा पुनः दोहोरिने छैन। धन्यवाद र सबैलाई माया।”
श्रीमानको बचाउमा श्रीमती, अम्पायरलाई आरोप
आफ्नो पतिको खराब व्यवहारको चौतर्फी आलोचना हुँदै गर्दा उनकी श्रीमती उम्मे अहमद शिशिरले फेसबुक पोस्ट मार्फत बचाउ गरेकी छिन्। उनले मिडियाले अम्पायरको गल्तिलाई ढाकेर शाकिबको रिस मात्र देखाएको र नियोजित रुपमा शाकिबलाई भिलेनको रुपमा प्रस्तुत गर्न षडयन्त्र भइरहेको आरोप लगाएकी छिन् –
“म यो घटनाको मजा लिईरहेको छु जसरि मिडिया लिईरहेको छ। जसले घटनाको सफा तस्विर देख्न पाए उनीहरुको समर्थन पाएर राम्रो लागिरहेको छ। कम्तिमा कसैसंग त यो मुस्किल समयमा उठ्ने हिम्मत छ। तथापी यो देख्दा दुख लाग्छ कि मुख्य मुद्दालिई मिडियाले लुकाएर उनले देखाएको रिसलाई हाइलाइट गरिएको छ। हेडलाइनहरु निकै दुखद छ, मुख्य मुद्दा त अम्पायरले गरेको निर्णय हो। मलाई लाग्छ बिभिन्न परिस्थिति सिर्जना गरेर उनलाई भिलेन देखाउन खोजिएको छ। यदी तपाई क्रिकेट प्रेमी हो भने यस्तो काम प्रति जागरुक हुनु होला।”
