घरेलु टोलि वेस्टइन्डिजलाई इनिंग्स अन्तरले पराजित गर्दै दक्षिण अफ्रीकाले दुई टेस्टको सिरिजमा १-० को अग्रता पाएको छ।
सेन्ट लुसिया स्थित डेरेन स्यामी नेसनल स्टेडियममा सम्पन्न खेलमा भ्रमण टोलि इनिंग्स र ६३ रनले विजयी भएको हो। टेस्टको नतिजा तेश्रो दिनमै आएको हो।
टेस्टको पहिलो इनिंग्समा टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिज लुंगी एनगीडीले ५ तथा एनरिक् नोर्कियाले ४ विकेट लिंदा ९७ रनमै समेटिन पुगेको थियो। दक्षिण अफ्रीकाले पहिलो इनिंग्समा क्विन्टन डीककको १४१ रनको मद्दतले ३२२ रन बनाएपछि पहिलो इनिंग्समा २२५ रनको अग्रता पाएको थियो। वेस्टइन्डिजले दोस्रो इनिंग्समा १६२ रन मात्र बनाउन सकेपछि दक्षिण अफ्रीका सहजै विजयी भयो।
दोश्रो इनिंग्समा वेस्ट इन्डिजको लागि रोस्टन चेजले ६२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। दक्षिण अफ्रीकाको बलिंगमा कागीसो रबाडाले सर्वाधिक ५ विकेट ( २०-९-३४-५ ) , एनरिक् नोर्कियाले ३ विकेट ( १४-५-४६-३ ) र केशभ महाराजले २ विकेट ( ११-५-२३-२ ) लिए।
खेलको प्लेयर अफ द म्याच क्विन्टन डीकक चुनिए।
सिरिज अन्तर्गत दोश्रो टेस्ट जुन १८ तारिखबाट सुरु हुनेछ। टेस्ट सिरिज पछि दुई टिमले जुन २६ तारिख देखि ५ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ।
