न्युजिल्यान्डको २२ वर्षे प्रतीक्षा समाप्त

२०७८ जेष्ठ ३०, आईतवार १९:२५

घरेलु टोलि इंग्ल्यान्डलाई दोश्रो टेस्टमा ८ विकेटले सहजै पराजित गर्दै न्युजिल्यान्डले दुई वटा टेस्टको सिरिज १-० ले आफ्नो पक्षमा पारेको छ।

बर्मिंघम स्थित एजब्यास्टनमा सम्पन्न टेस्टमा इंग्ल्यान्डले दिएको ३८ रनको झिनो लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाएर भेटाएको हो। लक्ष्य पछ्याउने क्रममा ओपनर टम लाथमले अविजित २३ रन बनाए। डेभोन कनवे ३ र विल योंग ८ रन बनाएर आउट भए। स्टुवार्ट ब्रोड र ओली स्टोनले समान १ विकेट लिए।

इंग्ल्यान्डलाई उसैको भूमिमा न्युजिल्यान्डले पराजित गरेको यो इतिहासकै तेश्रो सिरिज हो। यस अघि पछिल्लो पटक २२ वर्ष अघि सन् १९९९ मा तथा सन् १९८६ मा न्युजिल्यान्डले इंग्ल्यान्डलाई उसैको घरमा पराजित गरेको थियो। यस्तै बर्मिंघमममा न्युजिल्यान्डको यो पहिलो टेस्ट जित समेत हो।

तेश्रो दिनको समाप्तिमा ३७ रनको अग्रताबाट चौथो दिनको सुरुवात गरेको इंग्ल्यान्डले बाँकी रहेको १ विकेट चौथो दिनको पहिलो बलमै गुमाउन पुग्यो। दोश्रो इनिंग्समा इंग्ल्यान्डले १२२ रन मात्र बनाउन सक्यो जुन घरेलु मैदानमा न्युजिल्यान्ड बिरुद्ध इंग्ल्यान्डको इतिहासकै कम योगफल हो।

इंग्ल्यान्डको लागि दोश्रो इनिंग्समा मार्क वुडले सर्वाधिक २९ रन तथा ओली पोपले २३ रन योगदान दिए। न्युजिल्यान्ड बलर म्याट हेनरी ( १२-२-३६-३ ) र निल वागनर ( १०-१-१८-३ ) ले समान ३ विकेट लिए भने ट्रेन्ट बोल्ट ( १०.१-२-३४-२ ) र एजाज पटेल ( ९-४-२५-२ ) ले समान २ विकेट लिए।

टेस्ट अन्तर्गत पहिलो इनिंग्समा टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले पहिलो इनिंग्समा ड्यानियल लरेन्स र रोरी बर्न्सको समान ८१ रनको मद्दतले ३०३ रन बनाएको थियो। न्युजिल्यान्ड बलर ट्रेन्ट बोल्टले ४ तथा म्याट हेनरीले ३ विकेट लिएका थिए। न्युजिल्यान्डले पहिलो इनिंग्समा विल योंगको ८२ रन, रोस टेलर र डेभोन कनवेको समान ८० रन मद्दतले ३८८ रन बनाएको थियो। इंग्ल्यान्ड बलर स्टुवार्ट ब्रोडले ४ विकेट लिएका थिए।

खेलको प्लेयर अफ द म्याच म्याट हेनरी चुनिए भने प्लेयर अफ द सिरिज संयुक्त रुपमा डेभोन कनवे र रोरी बर्न्स चुनिए। सिरिज अन्तर्गत पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy