सन् २०१५ र २०१९ को एकदिवसीय विश्वकपमा फाइनल खेलेता पनि केन विलियमसनको टिम दुर्भाग्यवस उपाधि चुम्न असफल रह्यो। आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतसंगको फाइनल प्रतिस्पर्धाको लागि आफ्नो कप्तानीमा विलियमसन तयार छन्।
गत साता इंग्ल्यान्ड बिरुद्धको टेस्ट सिरिज अन्तर्गत दोश्रो टेस्ट कुइनोको चोटका कारण गुमाउन पुगेका विलियमसनले फाइनल अघि आफू लगायत टिम फिट रहेको जानकारी गराएका छन् – “राम्रो कुरा हो कि टिमको सबै जना फिट छन्। केहि दिन अघि इन्जेक्सन लगाएपछि मेरो कुइनोमा पनि सुधार भएको छ।” विलियमसनले साउथह्याम्प्टनमा शुक्रबार सुरु हुने खेल अघि पत्रकारसंग कुराकानीको क्रममा बताए।

इंग्ल्यान्ड बिरुद्ध गत साता सिरिज १-० ले जितेपछि न्युजिल्यान्ड टेस्ट वरियतामा पहिलो स्थानमा रहेको छ। तर विलियमसनले वरियतालाई खास महत्व दिएनन् – “वरियता भनेको परिवर्तन भइरहने कुरा हो। तर हामीलाई थाहा छ भारत जस्तो निकै बलियो टिम बिरुद्ध खेल्नु चुनौतीपूर्ण कुरा हो।”
“हामीलाई थाहा छ उनीहरुको सिम बलिंग, स्पिनर र ब्याटिंग विश्वस्तरीय छ। हाम्रो पनि उस्तै छ, त्यसले फाइनल खेलमा सहभागी हुन पाउदा उत्साहित छु।”
“हामीले फाइनलसम्मको यात्रा गर्न लामो समय देखि निकै मेहनत गरेका छौँ। हामि उत्साहित त छौँ तर हामीले खेलको हिस्साहरुको ध्यान केन्द्रित मात्र गर्न सक्छौं। हामि सधै आफ्नो खेललाई सुधार गर्ने प्रयासमा हुन्छौ।”
“दुवै टिमले राम्रो तयारी गरेका छौँ। एउटा मात्र खेल हुँदैछ त्यसैले क्रिकेट हो जे पनि हुनसक्छ।”
