नेपालले जुलाई २० देखि स्पेनमा त्रिकोणात्मक सिरिज खेल्ने, फोटोहरुमा हेर्नुस खेल हुने मैदान कस्तो छ

२०७८ असार ७, सोमबार २३:०९

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले नामिबिया र स्कटल्याण्डसंग खेल्ने त्रिकोणात्मक एकदिवसीय सिरिजको मिति तय भएको छ।

विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाले गत वर्ष फेब्रुअरीमा अन्तिम पटक नेपालमा त्रिकोणात्मक सिरिज खेलेपछि हालसम्म अर्को सिरिज आयोजना भएको छैन। नेपालले विश्वकप लिग-२ अन्तर्गत दोश्रो सिरिज खेल्न लागेको हो। कोभिड-१९ का कारण यस बीचमा सम्पूर्ण सिरिजहरु स्थगित हुँदै आएको थियो।

चर्चित क्रिकेट साइट क्रिक्बजले स्कटल्याण्ड, नेपाल र नामिबिया बीचको त्रिकोणात्मक सिरिज स्पेनको अल्मेरीयामा जुलाई २० देखि ३० सम्म आयोजना हुने खुलासा गरेको हो। आईसीसीको प्रतियोगिता प्रमुख क्रिस टेटलिलाई उधृत गर्दै क्रिक्बजले सो मितिमा खेल हुने निश्चित गरेको हो। तथापी अन्तर्राष्ट्रिय क्रिकेट परिषद र नेपाल क्रिकेट संघले भने अझै सिरिजको खेल तालिका अधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन।

इंग्ल्यान्डले कोभिड-१९ का कारण यात्रामा कडाई गरेपछि प्रतियोगिता स्पेनमा गरिन लागीएको हो। सिरिज अन्तर्गत तिन वटा देशले कुल ६ वटा खेल खेल्नेछन् जुन क्रममा सबै टिमले एकअर्का बिरुद्ध समान दुई वटा खेल खेल्नेछन्।

त्रिकोणात्मक सिरिजको लागि नेपाल क्रिकेट संघले मंगलबार देखि बन्द प्रशिक्षण सुरु गर्दैछ। बन्द प्रशिक्षणको लागि क्यानले २० सदस्यीय प्रारम्भिक टोलिको घोषणा गरिसकेको छ। टिममा स्थान बनाएका पृथु बास्कोटाले नाम फिर्ता लिएका छन् जसको प्रतिस्थापनमा क्यानले अर्को खेलाडी घोषणा गरेको छैन। बन्द प्रशिक्षणको लागि प्रशिक्षक डेभ व्हाटमोर नेपाल आईपुगिसकेका छन् र मंगलबार देखि अभ्यासको नेतृत्व गर्नेछन्। व्हाटमोरको नेतृत्वमा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो।

स्पेनको सुन्दर मैदानमा खेलिनेछ त्रिकोणात्मक सिरिज ( फोटो फिचर ) 

नेपाल, स्कटल्याण्ड र नामिबिया बीचको त्रिकोणात्मक सिरिज स्पेनको अल्मेरीया स्थित डेजर्ट स्प्रिंग्स क्रिकेट ग्राउण्डमा खेलिनेछ। स्पेनले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गर्न लागेको हो। यस अघि उक्त मैदानमा दुई वटा टि-२० अन्तर्राष्ट्रिय खेल आयोजना भएको छ। गत वर्ष मार्चमा जर्मनीको स्पेन भ्रमणमा दुई वटा टि-२० अन्तर्राष्ट्रिय खेलिएको थियो।

डेजर्ट स्प्रिंग्स क्रिकेट मैदान ‘डेजर्ट स्प्रिंग्स रिसोर्ट’ को अधिनमा रहेको छ। स्पेनको निकै स्तरीय रिसोर्टले आफ्नै सुबिधासम्पन्न क्रिकेट मैदान निर्माण गरेको हो जुन दक्षिण पूर्वी स्पेनमा अवस्थित रहेको छ। उक्त मैदानलाई आईसीसीले यसै वर्ष अप्रिलमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने मान्यता प्रदान गरेको थियो।

डेजर्ट स्प्रिंग्स क्रिकेट मैदान २०१८ मा स्थापना गरिएको हो। मैदान इंग्ल्यान्ड क्रिकेट बोर्डले निर्धारण गरेको स्तरको आधारमा निर्माण गरिएको छ जहाँ उच्चस्तरीय अभ्यास तथा मैदानको सुविधासम्पन्न गरिएको छ। मैदानमा इंग्ल्यान्डको काउन्टी टिमहरु डर्बीसार, लांकसाय र समरसेटले अभ्यास मैदानको रुपमा प्रयोग समेत गर्ने गरेका छन्। यस्तै इंग्ल्यान्ड क्रिकेट टिमले समेत उक्त मैदानमा अभ्यास गरिसकेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy