इश्लामावाद युनाइटेडलाई ३१ रनले पराजित गर्दै मुल्तान सुल्तान्स युएईमा जारि पाकिस्तान सुपर लिगको छैठौं संस्करणको फाइनलमा प्रवेश गरेको छ। मुल्तान पहिलो पटक फाइनल यात्रा गर्न सफल भएको हो।
शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा मुल्तानले दिएको १८१ रन लक्ष्य पछ्याउने क्रममा इश्लामावादले १९ ओभरमा सबै विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो।
इश्लामावादको लागि ओपनर उस्मान ख्वाजाले ७० रन बनाएता पनि अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन सकेनन्। प्लेयर अफ द म्याच चुनिएका मुल्तानका पेसर सोहेल तन्भिरले पहिलो र तेश्रो ओभरमा कोलिन मुनरो र कप्तान शदाब खानलाई खाता नखोल्दै पेभेलियन फर्काएपछि मुल्तान खेलमा हावी हुन पुग्यो। ख्वाजालाई पनि तन्भिरले क्याच आउट गराए।
मुल्तान बलर सोहेल तन्भिर ( ४-०-१७-३ ) र ब्लेसिंग मुजाराबानि ( ४-०-३१-३ ) ले समान ३ विकेट तथा इमरान ताहिरले २ र इमरान खानले १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको मुल्तानले २० ओभरमा ५ विकेट क्षेतीमा १८० रन बनाएको थियो। उसको लागि सोहेल मक्सुदले ५९, खुस्दिल शाहले अविजित ४२, जोनाथन चार्ल्सले ४१ र शान मसुदले २५ रन योगदान दिए।
५९ रनमा ३ विकेट गुमाएको अवस्थामा चार्ल्सले खुस्दिलले ६३ रनको साझेदारी गरेका थिए। यस्तै छैठौं विकेटको लागि खुस्दिलले सोहेल तन्भिरसंग २० बलमा ४३ रन जोडे। इनिंग्सको १९ औं ओभरमा खुस्दिलले अकिफ जाभेदलाई ओभरको अन्तिम ४ बलमा लगातार ४ छक्का प्रहार गरेका थिए।
इलिमीनेटर-१ : पेशावरसंग पराजित हुँदै कराची बाहिर
सोमबार राति सम्पन्न दोश्रो खेलमा कराची किंग्सलाई ५ विकेटले पराजित गर्दै पेशावर जाल्मीले दोश्रो इलिमीनेटरमा इश्लामावादसंगको भेट पक्का गर्यो। मंगलबार खेलिने इश्लामावाद र पेशावर बीचको दोश्रो इलिमीनेटरको विजेताले बिहिबार हुने फाइनलमा मुल्तानसंगको भेट पक्का गर्नेछ।
कराची किंग्सले दिएको १७६ रनको लक्ष्य पेशावरले मात्र १ बल बाँकी रहंदा ५ विकेट गुमाएर भेटायो।
रोमान्चक अन्त्य भएको खेलको अन्तिम ओभरमा जितको लागि ७ रन आवस्यक रहंदा मोहम्मद इल्यासले २० औं ओभरको पहिलो ३ बलमा मात्र २ रन खर्चेका थिए। तर चौथो बलमा शर्फेन रुथरफोर्डले चौका तथा अर्को बलमा १ रन लिंदै जित दिलाए। ओभरको पहिलो र पाँचौ बलमा रुथरफोर्डकको क्याच दानिश अजिज र थिसारा परेराले छोड्नु टिमको लागि घातक सावित हुन पुग्यो।
लक्ष्य पछ्याउने क्रममा पेशावरको लागि प्लेयर अफ द म्याच ओपनर हज्रतुल्लाह जजाईले मात्र ३८ बलमा १० चौका र ५ छक्का मद्दतले ७७ रन बनाए। शोयब मलिकले ३० तथा खालिद उस्मान र शर्फेन रुथरफोर्डले समान १७ रन बनए। रुथरफोर्डले १० बलमा ३ छक्का प्रहार गरे।
कराचीको बलिंगमा थिसारा परेराले २ तथा मोहम्मद आमिर, मोहम्मद इल्यास र नुर एहमदले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कराचीले २० ओभरमा ७ विकेट क्षेतीमा १७५ रन बनाएको थियो। उसको लागि बाबर आजमले सर्वाधिक ५३ रन योगदान दिए जुन क्रममा ४५ बलमा ६ चौका प्रहार गरे। थिसारा परेराले ३७ तथा शर्जिल खानले २६ रन बनाए।
पेशावरको बलिंगमा वहाव रियाज ( ४-०-२९-२ ), मोहम्मद इरफान ( ४-०-२१-२ ) र उमेद आसिफ ( ४-०-३७-२ ) ले समान २ विकेट तथा मोहम्मद इमरानले १ विकेट ( ४-०-३७-१ ) लिए।
