भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डको साउथह्याम्पटनमा जारि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले आफ्नो पहिलो इनिंग्समा २४९ रन बनाएको छ। पहिलो इनिंग्समा न्युजिल्यान्डले ३२ रनको अग्रता पाएको छ। भारतले केहि बेरमा आफ्नो दोश्रो इनिंग्स सुरु गर्नेछ।
दिनको सुरुवात १०१/२ को योगफलबाट सुरुवात गरेको न्युजिल्यान्डले बाँकी ८ विकेट गुमाउदा योगफलमा थप १४८ रन जोड्न सक्यो।
न्युजिल्यान्डको लागि ओपनर डेभोन कनवेले सर्वाधिक ५४ रन तथा कप्तान केन विलियमसनले ४९ रन बनाए। टम लाथम र टिम साउदीले समान ३० रन, कायल जेमीसनले २१ रन बनाए।
दिनको सुरुवातमा रोस टेलर, हेनरी निकोलस र बिजे वाटलिंगले छिट्टै विकेट गुमाएपछि पनि विलियमसनले एक किनार सम्हालेर ब्याटिंग गरेका थिए। विलियमसनलाई ९४ औं ओभरमा इशान्त शर्माले बिराट कोहलीबाट क्याच आउट गराए जस अघि उनले १७७ बलमा ६ चौका प्रहार गरे।
१६२/६ को अवस्थाबाट न्युजिल्यान्डका तल्लो क्रमका ब्याट्सम्यानहरुले अग्रता दिलाउन महत्वपूर्ण भूमिका खेले। आठौं विकेटको लागि केन विलियमसन र टिम साउदीले २९ रनको साझेदारी गरे।

भारतको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ४ विकेट ( २६-८-७६-४ ) , इशान्त शर्माले ३ विकेट ( २५-९-४८-३ ) , रभीचन्द्रन आश्विनले २ विकेट ( १५-५-२८-२ ) तथा रभीन्द्र जडेजाले १ विकेट ( ७.२-२-२०-१ ) लिए।
टेस्टको पहिलो इनिंग्समा टस हारेर ब्याटिंग गरेको भारतले २१७ रन बनाएको थियो। भारतको लागि अजिंके रहानेले ४९ रन, बिराट कोहलीले ४४ रन, रोहित शर्माले ३४ रन योगदान दिएका थिए। न्युजिल्यान्डको बलिंगमा कायल जेमीसनले ५ विकेट तथा ट्रेन्ट बोल्ट र निल वाग्नरले समान २ विकेट लिएका थिए।
