जुलाई २२-अगस्ट २१ सम्म इंग्ल्यान्डमा खेलिने ‘द हन्ड्रेड’ लिगसंग नेपालको विश्वकप लिग-२ अन्तर्गतको आगामी त्रिकोणात्मक सिरिजको खेल तालिका जुध्दा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले ‘द हन्ड्रेड’ लिगको खेलहरु गुमाउने भएका छन्।
नेपाली लेग स्पिनर पहिलो पटक आयोजना हुन लागेको इंग्ल्यान्ड क्रिकेट बोर्डको महत्वकांक्षी प्रतियोगिता ‘द हन्ड्रेड’ मा ओभल इन्भिन्सिबलको प्रतिनिधित्व गर्दै छन्। गत सिजननै सन्दिपलाई अनुबन्ध गरेता पनि कोभीड-१९ का कारण गत वर्ष प्रतियोगिता आयोजना हुन सकेको थिएन।
सन्दिपलाई यो सिजन ओभलले ६० हजार युरो अर्थात् करिब ९९ लाख नेपाली रुपैयाँमा टिममा पुनः अनुवन्ध गर्ने निर्णय गरेको थियो। अघिल्लो सिजन ड्राफ्टमा सन्दिपलाई १ लाख युरोमा अनुवन्ध गरिएता पनि यो वर्ष पुनः अनुवन्ध गर्दा उनले ४० हजार युरो कम मूल्य पाएका हुन्।
An absolute honor to be retained by #OvalInvincibles for @thehundred. Look forward to play in this new format of the cricket arena.#2Five #RiseAndRise pic.twitter.com/MBGF19RI8P
— Sandeep Lamichhane (@Sandeep25) February 3, 2021
सन्दिपले कति खेल गुमाउलान् ?
स्पेनमा नेपालले जुलाई २० देखि ३० तारिखसम्म नामिबिया र स्कटल्याण्डसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। त्रिकोणात्मक सिरिज सकिएर भोलि पल्ट सन्दिप इंग्ल्यान्ड पुगेको खण्डमा ओभलले तिन वटा खेल खेलीसकेको हुनेछ। त्रिकोणात्मक सिरिजमा नेपालको अन्तिम खेल कहिले पर्छ त्यसले पनि सन्दिप इंग्ल्यान्ड कहिले पुग्नेछन् थाहा हुनेछ। हालसम्म आईसीसीले खेलतालिका सार्वजनिक गरेको छैन।
ओभल इन्भिन्सीबलको खेलतालिका :जुलाई २२ Vs म्यानचेस्टर ओरिजिनल , जुलाई २५ Vs लण्डन स्पिरिट , जुलाई ३१ Vs नर्दर्न सुपरचार्जर्स, अगस्ट २ Vs वेल्स फायर, अगस्ट ४ Vs बर्मिङगम , अगस्ट ८ Vs ट्रेन्ट रकेट्स, अगस्ट १४ Vs लण्डन स्पिरिट, अगस्ट १६ Vs साउदर्न ब्रेभ
इंग्ल्यान्ड पुगेर सन्दिपको क्वारेन्टाइन अवधिले उनले कति खेल गुमाउने छन् निर्धारण गर्नेछ। स्पेनलाई इंग्ल्यान्डले ‘रेड जोन’ मा नराखेकोले सन्दिपले नेपालबाट गएको भन्दा थोरै दिन क्वारेन्टाइनमा बिताउन पर्ने जानकारी रहेको छ। नेपाल लगायत ‘रेड जोन’ मुलुकबाट जाँदा अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने हुन्छ।
स्पेनबाट इंग्ल्यान्ड पुगेपछि सन्दिपले कोभीड-१९ परिक्षण गराएपछि परिक्षण नतिजा नेगेटिभ आएको खण्डमा उनि खेलको लागि छिट्टै उपलब्ध हुने सम्भावना पनि रहेको छ।
त्रिकोणात्मक सिरिज र ‘द हन्ड्रेड’ सुरु हुन अझै करिब एक महिना अवधि बाँकी रहेकोले उक्त समयसम्म इंग्ल्यान्डले यात्रा र क्वारेन्टाइन नियम परिवर्तन गर्ने सम्भावना पनि रहन्छ। त्यसैले सन्दिप पर्ख र हेरको अवस्थामा पनि रहनेछन्।
हालको परिस्थितिहरुले आंकलन गर्दा कम्तिमा नेपाली स्पिनरले ४ खेल गुमाउने निश्चित देखिन्छ। ओभलले लिग चरणमा कुल ८ खेल खेल्नेछ।
सन्दिपले सुरुवाती खेलहरु गुमाउने हुँदा उनको प्रतिस्थापनमा अर्को खेलाडी ओभलले अनुवन्ध गर्नेछ।
यस अघि भिसा समस्याका कारण सन्दिपले पहिलो पटक इंग्ल्यान्डको घरेलु टि-ट्वान्टी लिग ‘टि-ट्वान्टी ब्लास्ट’ गुमाउन पुगेका थिए। समयमा इंग्ल्यान्ड पुग्न नसकेपछि उनको स्थानमा वर्सेस्टरशायरले न्युजिल्यान्डका लेग स्पिनर इश सोढिलाई टिममा अनुबन्ध गरेको थियो।
‘द हन्ड्रेड’ लिगमा सहभागिता पछि नेपाली स्पिनर करेबियन प्रिमियर लिगमा सहभागी हुनेछन्। यो सिजन ट्रिनबागो नाइट राइडर्समा अनुवन्धित भएका हुन्। लिग अगस्ट २८ तारिखबाट सुरु हुने तालिका रहेको छ।
सन्दीप हाल नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षणमा अभ्यासरत रहेका छन्। नेपालले मंगलबार देखि औपचारिक रुपमा आगामी त्रिकोणात्मक सिरिजको लागि तयारी सुरु गरिसकेको छ।
२० वर्षीय लेग स्पिनरले अन्तिम पटक यो वर्ष जनवरीमा होबर्ट हरिकेन्सबाट बिग ब्यास लिग खेलेका थिए।
