आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्पेनमा आयोजना हुने बताईएको स्कटल्याण्ड र नामिबियासंगको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज स्थगित भएपछि नेपाल क्रिकेट संघले ( क्यान ) राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित गर्ने निर्णय गरेको छ। आईसीसीले बिहिबार बिज्ञप्ति जारी गर्दै सिरिज स्थगित गरेको बताएको थियो।
क्यानले शनिवार विहान एक बिज्ञप्ति जारि गर्दै बन्दप्रशिक्षण स्थगित भएको जानकारी गरेको हो – “आजै देखि लागु हुने गरि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित गरिएको छ।” सिरिजलाई मध्यनजर राखेर क्यानले २० सदस्यीय प्रारम्भिक टोलिको घोषणा गरेर यो साता मंगलबार देखि प्रशिक्षण सुरु गरेको थियो।
बन्द प्रशिक्षण रोकिएता पनि क्यानले खेलाडीहरुलाई सानो समुहमा प्रशिक्षण भने जारि राख्ने भएको छ। “बन्द प्रशिक्षण स्थगित भएता पनि खेलाडीहरुले सानो समुहमा कोभिड-१९ सावधानी अपनाउदै प्रमुख प्रशिक्षण डेभ व्हाटमोर र फिजियो विक्रम न्यौपानेको निगरानीमा प्रशिक्षण जारि राख्नेछन्।” क्यानले बताएको छ।
CAN has postponed the Closed Camp of the National Cricket Team effective from today.
However, Players will continue to train in small groups following Covid protocols at TU grounds under the supervision of Head coach DAV Whatmore and physio Vikram Nyaupane.
— CAN (@CricketNep) June 26, 2021
दुई अहिना अघि अप्रिलमा नेदरल्याण्ड र मलेसियासंगको त्रिकोणात्मक टि-२० सिरिज सम्पन्न भएपछि स्वदेश फर्किएका प्रशिक्षक डेभ व्हाटमोर गत साता विश्वकप लिग-२ को तयारीको लागि नेपाल आएका थिए। व्हाटमोरलाई नेपालमै राखेर अभ्यास निरन्तर गर्ने निर्णय क्यानले गरेको हो।
श्रोतका अनुसार नेपाल क्रिकेट संघले नेपालमा कोभिड-१९ को स्थिति सहज भएपछि पुनः त्रिकोणात्मक वा दुई देशीय सिरिज योजना गर्ने सोच बनाएको छ। ओमानसंग सिरिज खेल्नको लागि प्रस्ताव गर्ने सोचमा क्यान रहेको छ जसबारे अधिकारिक निर्णय भने भएको छैन। उक्त सिरिज सेप्टेम्बरमा आयोजना हुन सक्नेछ।
विश्वकप लिग-२ अन्तर्गत नेपालको आगामी खेल तालिका
नेपालले गत वर्ष फेब्रुअरीमा विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग त्रिकोणात्मक सिरिज खेलेको थियो जसपछि लिग अन्तर्गत अर्को सिरिज खेल्न पाएको छैन।
नेपालले आईसीसीको तालिका अनुसार अब आगामी सिरिज २०२२ फेब्रुअरीमा घरेलु मैदानमा युएई र पपुवा न्यु गिनीसंग खेल्ने तालिका रहेको छ। त्यसपछि २०२२ मार्चमा नामिबिया र स्कटल्याण्डसंग नामिबियामा तथा २०२२ जुलाईमा अमेरिका र ओमानसंग अमेरिकामा खेल्ने तालिका रहेको छ। त्यसपछि युएई र पपुवा न्यु गिनीसंग पपुवा न्यु गिनीमा २०२२ सेप्टेम्बरमा, २०२३ फेब्रुवरीमा घरेलु मैदानमा नामिबिया र स्कटल्याण्डसंग तथा युएईमा २०२३ फेब्रुअरीमा युएई र पपुवा न्यु गिनीसंग खेल्ने तालिका रहेको छ।
नेपालले विश्वकप लिग-२ अन्तर्गत पहिलो र अन्तिम सिरिज गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासंग खेलेको थियो। उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो। विश्वकप लिग-२ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।
विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ। विश्वकप लिग-२ को शिर्ष-३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्ले-अफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।
