इंग्ल्यान्ड भ्रमणमा रहेका ३ खेलाडी निलम्बित गर्दै श्रीलंकाले घर फिर्ता बोलायो, जान्नुस कारण

२०७८ असार १४, सोमबार १६:४१

जारी इंग्ल्यान्ड भ्रमणमा कोभिड-१९ बिरुद्ध सुरक्षा घेरा तोडेपछि तिन जना श्रीलंकन खेलाडीहरुलाई श्रीलंका क्रिकेटले सोमबार निलम्बित गरेको छ। ब्याट्सम्यान कुशल मेन्डिस, विकेटकिपर निरोशन डिकवेला र ओपनर दनुश्का गुनथीलकालाई निलम्बित गरिएको हो।

तिन जना खेलाडी टि-२० अन्तर्राष्ट्रिय सिरिजको आइतबार सम्पन्न फाइनल खेलपछि राति डरहमको सडकमा देखिएका थिए। श्रीलंका ८९ रनले पराजित भएको उक्त खेलमा तिन जनै खेलाडीहरु अन्तिम-११ को हिस्सा रहेका थिए। निलम्बन संगै तिन जना क्रिकेटरलाई श्रीलंका फिर्ता बोलाउने निर्णय बोर्डले गरेको छ।

“श्रीलंका क्रिकेटको कार्यकारी समितिले कुशल मेन्डिस, निरोशन डिकवेला र दनुश्का गुनथीलकालाई जैव सुरक्षित घेरा तोडेको आरोपमा निलम्बित गरेको छ। उनीहरुलाई तुरुन्तै श्रीलंका फिर्ता बोलाइनेछ।” श्रीलंका क्रिकेटका सेक्रेटरी मोहन डी सिल्भाले बोर्डद्वारा जारि बिज्ञप्तिमा बताएका छन्।

एक श्रीलंकन क्रिकेट टिमका समर्थकले तिन जना खेलाडीहरु गुमिरहेको भिडियो सामाजिक संजाल ट्वीटरमा पोस्ट गरेपछि श्रीलंका क्रिकेटले घटनाको अनुसन्धान गरेको थियो। गुनथीलका भने उक्त भिडियोमा देखिएका छैनन्।

भिडियो हेर्नुस 

तिन जना खेलाडीहरुले होटल भित्र रहेका अन्य खेलाडीसंग सम्पर्क गरेको बारे अधिकारिक जानकारी आएको छैन। यदी त्यसो भएको खण्डमा सिरिजनै खतरामा पर्न सक्नेछ।

तिन जना खेलाडी बाहिरिने भएपछि श्रीलंकन टिम अझै कमजोर बन्ने भएको छ। तिन जनानै एकदिवसीय टिमको प्रमुख हिस्सा समेत थिए।

श्रीलंकन क्रिकेट टिम इंग्ल्यान्डसंगको तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजमा ३-० ले पराजित भएपछि टिमको सर्वत्र आलोचना भएको छ। अक्टोबर २०२० पछि श्रीलंकाको यो लगातार पाँचौ टि-२० अन्तर्राष्ट्रिय सिरिज हार हो। श्रीलंकन पूर्व क्रिकेटरहरु सनथ जयसूर्या, मुथैया मुरलीधरन, रोशन महानामा, हसन थिलाक्रत्ने, तिलकरत्ने दिलशान लगायतले श्रीलंकाको खराब प्रदर्शनको आलोचना गर्दै चिन्ता व्यक्त गरेका छन्।

श्रीलंका र इंग्ल्यान्ड बीच मंगलबार देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy