माई सेकेण्ड टिचरद्धारा राष्ट्रिय टोलीलाई रु. ५ लाख र डेब्यु गरेका चार खेलाडीलाई जनही रु. १ लाख हस्तान्तरण

२०७८ असार १८, शुक्रबार ११:११

गत वैशाखमा नेपाल, नेदरल्याण्ड र मलेसियाबीच सम्पन्न भएको त्रि देशिय टि-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई बिहिबार एक समारोहबीच राष्ट्रिय टोलिको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली क्रिकेट टोलीलाई नगद रु. ५ लाख र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीहरु कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीलाई जनही रु. १ लाख प्रदान गरेको छ । प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम , कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेसिया र नेदरल्याण्डलाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो । समारोहका बीचमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरुमा पनि नेपालको प्रर्दशन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए ।

समारोहका बीच इन्नोभेट टेकका संस्थापक अध्यक्ष श्री सुलभ बुढाथोकीले नेपाली टिमलाई बधाई दिए“ट्राई नेशन सिरिजमा नेपालको उत्कृष्ट प्रर्दशन देख्दा निकै नै गर्वशाली महसुस भएको छ । नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीहरुको आत्मविश्वास देख्दा अन्तर्राष्ट्रिय खेलकुद जगतमा नेपाल चाडैँ नै फस्टाउने कुरामा निकै आशावादी रहेको छु । साथै , माई सेकेण्ड टिचरले नेपाली शैक्षिक क्षेत्रको मात्रै नभई नेपाली खेल जगत्को स्तरोन्नति तथा नेपाली खेलाडीको मनोबल उच्च गराउन आगामी दिनहरुमा पनि विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरी खेलकुद क्षेत्रमा आमुल परिवर्तन ल्याउने कुरामा प्रतिबद्ध रहेकोे छ । पुरस्कृत खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछु । ”

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy