इंग्ल्यान्डको द हन्ड्रेड लिगसंग मिति जुधेता पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिगको ड्राफ्टमा नाम दर्ता गराएका छन्। लंका प्रिमियर लिगको दोश्रो संस्करण यसै महिना जुलाई ३० देखि अगस्ट २२ तारिखसम्म आयोजना हुनेछ।
सन्दिपसंगै लंका प्रिमियर लिगमा विश्वचर्चित क्रिकेटरहरुले नाम दर्ता गराएका छन्। भारतका युसुफ पठान, बंगलादेशका शकिब अल हसन तामिम इकबाल, अस्ट्रेलियाका उस्मान ख्वाजा, बेन डंक, कलुम फर्गुसन, बेन कटिंग, जेम्स फल्कनर, दक्षिण अफ्रीकाका तेम्बा बभुमा, मोर्ने मोर्केल, भान डर डुसेन, तब्रेज शाम्सी, केशभ महाराज, वेस्टइन्डिजका निकोलस पुरन, शेल्डन कटरेल, ड्वेन ब्राभो जस्ता खेलाडीहरुले नाम दर्ता गराएका छन्।
सन्दिपले कुन श्रेणीमा नाम दर्ता गराएको खुलेको छैन। विदेशी खेलाडीको लागि आईकन ओभरसिज श्रेणीको मूल्य ६० हजार डलर, डायमण्ड ओभरसिज श्रेणीको मूल्य ५० हजार डलर तथा गोल्ड ओभरसिज श्रेणीको मूल्य २५ देखि ४० हजार डलर रहेको छ। सन्दिपले अघिल्लो संस्करण पनि लंका प्रिमियर लिगको ड्राफ्टमा नाम दर्ता गराएता पनि उनलाई कुनै पनि टिमले लिएका थिएनन्।

लंका प्रिमियर लिगको एउटा टिममा २० जना अधिकतम खेलाडी हुनुपर्ने नियम रहेको छ जसमध्ये अधिकतम ६ जना विदेशी खेलाडी र अधिकतम १४ जना स्थानीय खेलाडी हुनुपर्नेछ। अघिल्लो सिजन टिममा रहेका २/२ जना स्थानीय र विदेशी खेलाडीलाई टिमहरुले रिटेन गर्न पाउनेछ।
लंका प्रिमियर लिगमा कोलोम्बो किंग्स, दाम्बुल्ला भाइकिंग, गाले ग्ल्याडीएटर्स, जाफ्ना स्टालियन्स र क्यान्डी टस्कर्स गरि ५ टोलि रहेका छन्। गत सिजन लिगको उपाधि थिसारा परेरा कप्तानीको जाफ्नाले जितेको थियो।
द हन्ड्रेडसंग मिति जुधेता पनि सन्दिपले किन दर्ता गराए लंका प्रिमियर लिग ड्राफ्टमा नाम
लंका प्रिमियर लिग जुलाई ३० देखि अगस्ट २२ तारिखसम्म आयोजना हुनेछ भने ‘द हन्ड्रेड’ लिग जुलाई २२ देखि अगस्ट २१ तारिखमा आयोजना हुनेछ। दुई प्रतियोगिताको मिति जुधेता पनि सन्दिपले किन लंका प्रिमियर लिग ड्राफ्टमा पनि नाम दर्ता गराए चासोको विषय रहेको छ।
‘द हन्ड्रेड’ लिगको टिम ओभल इन्भिनसिबलसंग ६० हजार पाउण्ड स्टरलिंग अर्थात् करिब १ करोड नेपाली रुपैयाँमा आवद्ध भएका हुन्। लिगमा सहभागी हुन सन्दिप जुलाई ८/९ तारिखमा इंग्ल्यान्ड प्रस्थान गर्ने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ। तर सन्दिपको हातमा स्पेन हुँदै इंग्ल्यान्ड जानको लागि पासपोर्ट भने परेको छैन।
नेपालले खेल्ने विश्वकप लिग-२ को लागि सन्दिप सहित नेपाली राष्ट्रिय टिमले स्पेनको लागि भिसा प्रक्रिया थालेको थियो। प्रतियोगिता स्थगित भएको घोषणा हुनु ३ दिन अगाडी उनि सहित नेपाली टिमले भिसा अप्लाई गरेको थियो। स्पेन हुँदै जाँदा थोरै दिन क्वारेन्टाइन बस्नुपर्ने हुँदा स्पेन हुँदै इंग्ल्यान्ड जान लागेका सन्दिपको हातमा अझै पासपोर्ट परेको छैन। यस अघि गत महिना टि-२० ब्लास्ट खेल्न जाने क्रममा इंग्ल्यान्ड जाने क्रममा सन्दिप भिसा हात नपरेकै कारणले उनको कन्ट्रयाक्ट वर्सेस्टरसायरले रद्द गरेको थियो। यो पटक पनि सोहि कथा दोहोरिएको खण्डमा सन्दिपले ब्याक-अपको रुपमा लंका प्रिमियर लिग ड्राफ्टमा नाम दर्ता गराएका हुन्। अझै समय रहेकोले सन्दिप ‘द हन्ड्रेड’ को लागि जाने निश्चित जस्तो छ।
‘द हन्ड्रेड’ लिगमा सहभागिता पछि सन्दिप वेस्टइन्डिजमा अगस्ट २८ तारिख देखि सुरु हुने करेबियन प्रिमियर लिग खेल्न जाने तालिका रहेको छ। उनलाई यो सिजन डिफेन्डिङ च्याम्पियन टिम ट्रिनबागो नाइट राइडर्सले टिममा अनुबन्ध गरेको छ।
