मिथाली राजको कप्तानी इनिंग्समा भारतको जित, मिथालीको नयाँ विश्वकीर्तिमान

२०७८ असार २०, आईतवार ००:४२

कप्तान मिथाली राजले उत्कृस्ट ब्याटिंग प्रदर्शन गर्दा घरेलु टोलि इंग्ल्यान्ड बिरुद्ध तेश्रो एकदिवसियमा भारतीय महिला क्रिकेट टिम ४ विकेटले विजयी भएको छ। अघिल्लो दुई खेल जित्दै इंग्ल्यान्डले सिरिज आफ्नो पक्षमा पारिसकेको थियो।

वर्सेस्टर स्थित न्युज रोडमा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको २२० रनको लक्ष्य भारतले ३ बल बाँकी रहंदा भेटायो।

लक्ष्य पछ्याउने क्रममा चौथो नम्बरमा ब्याटिंग गरेकी कप्तान मिथाली राजले अविजित ७५ रन योगदान दिईन् जुन क्रममा ८६ बलमा ८ चौका प्रहार गरिन्। जितको लागि अन्तिम ४ बलमा ४ रन आवस्यक रहंदा मिथालीले चौका प्रहार गर्दै टिमको जित सुनिस्चित गरेकी थिईन्। यस्तै ओपनर स्मृति मन्धनाले ४९ रन, स्नेह रानाले २४ रन, शफाली वर्माले १९ रन, दिप्ती शर्माले १८ रन तथा हर्मनप्रित कौरले १६ रन योगदान दिईन्।

इंग्ल्यान्डको बलिंगमा सोफी इक्लेस्टोनले २ विकेट तथा केट क्रस, सराह ग्लेन, नताली स्किभर र हिदर नाइटले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित ४७ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१९ रन बनाएको थियो। वर्षाले खेल ढिला सुरु हुँदा ४७ ओभरमा झारिएको थियो।

इंग्ल्यान्डको ब्याटिंगमा नताली स्किभरले सर्वाधिक ४९ , कप्तान हिदर नाइटले ४६ रन, विनफिल्ड हिलले ३६ रन तथा सोफिया डंकलेले २८ रन योगदान दिईन्। १५१ रनको योगफलमा मात्र ३ विकेट गुमाएको इंग्ल्यान्डले थप ७ विकेट गुमाउदा योगफलमा ७० रन मात्र जोड्न सक्यो।

भारतको बलिंगमा अफ स्पिनर दिप्ती शर्माले सर्वाधिक ३ विकेट हात पारिन् जुन क्रममा १० ओभरमा ४७ रन खर्चिन्। झुलन गोस्वामी, पुनम यादव, शिखा पाण्डे, स्नेह राना र हर्मनप्रित कौरको नाममा समान १ विकेट रह्यो।

सिरिज अन्तर्गत इंग्ल्यान्डले पहिलो र दोश्रो खेल क्रमशः ८ विकेट र ५ विकेटले जितेको थियो। दुई देश बीच जुलाई ९ तारिख देखि तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

मिथालीको विश्वकीर्तिमान

भारतीय कप्तान मिथाली राज महिला अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै सर्वाधिक रनकर्ता बनेकी छिन्। इंग्ल्यान्ड पूर्व क्रिकेटर चार्लोट एडवार्डले बनाएको १०,२७३ कुल रन पार गर्दै मिथालीले रेकर्ड बनाएकी हुन्। मिथाली र एडवार्डले मात्र महिला अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार भन्दा माथि कुल रन बनाउन सकेका छन्। मिथालीको कुल अन्तर्राष्ट्रिय रन संख्या १०,३३७ पुगेको छ।


मिथाली राज महिला एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको सर्वाधिक रनकर्ता समेत हुन् जसले २१७ खेलमा ७ शतक र ५८ अर्धशतक मद्दतले कुल ७,३०४ रन बनाएकी छिन्। दोश्रो धेरै चार्लोट एडवार्डले ५,९९२ रन बनाएकी छिन्।

सन् १९९९ मा आयरल्याण्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा भारतको लागि डेब्यु गरेकी मिथालीले भारतको लागि ११ टेस्ट, २१६ एकदिवसीय अन्तर्राष्ट्रिय र ८९ टि-२० अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गरेकी छिन्। उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ७३०४ रन, टि-२० अन्तर्राष्ट्रियमा २,३६४ रन तथा टेस्टमा ६६९ रन बनाएकी छिन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy