घरेलु टोली वेस्टइन्डिजलाई पाँचौ खेलमा २५ रनले पराजित गर्दै दक्षिण अफ्रीकाले पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जित्न सफल भएको छ। सन् २०१९ मार्च पछि दक्षिण अफ्रीकाले जितेको यो पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज हो।
ग्रेनाड़ा स्थित नेसनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १४३ रन मात्र बनाउन सक्यो।
वेस्टइन्डिजको लागि ओपनर इभिन लुइसले सर्वाधिक ५२ रन, शिमरन हेटमायरले ३३ रन, निकोलस पुरनले २० रन योगदान दिए।
लक्ष्य पछ्याउने क्रममा१५ औं ओभरको सुरुवातमा ११०/३ को अवस्थामा रहेको वेस्टइन्डिजले त्यसपछि थप ६ विकेट गुमाउन पुग्दा योगफलमा ३३ रन मात्र जोड्न सक्यो। इनिंग्सको १५ औं ओभरमा दायाँ हाते पेसआर वियान मुल्डरले काईरन पोलार्ड र आन्द्रे रसेललाई लगातार बलमा पेभेलियन फर्काउदै दक्षिण अफ्रीकालाई खेलमा हावी गराएका थिए।
दक्षिण अफ्रीकाको बलिंगमा लुंगी एनगीडीले सर्वाधिक ३ विकेट ( ४-०-३२-३ ) हात पारे। यस्तै कागीसो रबाडा ( ४-०-२४-२ ) र वियान मुल्डर ( ४-०-३१-२ ) ले समान २ विकेट लिए। जर्ज लिन्डे र तब्रेज शाम्सीले समान १ विकेट लिए।
निकै कन्जुस्याइँपूर्ण बलिंग गरेका चाइनाम्यान बलर शाम्सीले ४ ओभर बलिंग गर्दा मात्र ११ रन मात्र खर्चिए जुन जितमा निकै महत्वपूर्ण रह्यो। उनले १६ औं ओभर बलिंग गर्ने क्रममा शिमरन हेटमायर र निकोलस पुरनलाई मात्र २ रन बनाउन दिएका थिए। त्यस अघि १२ औं ओभरमा उनले पोलार्ड र हेटमायर क्रिजमा रहंदा ५ वटा डट बल गर्दै मात्र १ रन खर्चेका थिए। त्यस अघि छैठौं ओभरमा ५ रन तथा आठौँ ओभरमा उनले ३ रन मात्र खर्चेर क्रिस गेलको महत्वपूर्ण विकेट लिएका थिए।
जितको लागि अन्तिम २ ओभरमा ३० रन आवस्यक रहंदा कागीसो रबाडाले १९ औं ओभर बलिंग गर्दै ड्वेन ब्राभो र निकोलस पुरनको विकेट लिए भने ओभरमा मात्र ३ रन खर्चिएका थिए। अघिल्लो ओभरमा पुरनले २ छक्का हिर्काउदै जिततर्फ डोर्याउने प्रयास गरेका थिए।
South Africa win the T20I series 3-2! ✅
Recording 168/4 in the first innings, the Proteas successfully restricted West Indies to 143/9, claiming a 25-run victory at Grenada.#WIvSA | https://t.co/QKIY1kZV2x pic.twitter.com/VTweXNsH3k
— ICC (@ICC) July 3, 2021
यस अघि टस जितेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ४ विकेट क्षेतीमा १६८ रन बनाएको थियो।
दक्षिण अफ्रीकाको लागि एडेन मारक्रमले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै क्विन्टन डीककले ४२ बलमा ४ चौका र २ छक्का मद्दतले ६० रन बनाए। डेभिड मिलरले अविजित १८ रन बनाए।
कप्तान टेम्बा बभुमा खाता नखोली पहिलो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि मारक्रम र डीककले १२८ रनको उत्कृस्ट साझेदारी गरेका थिए।
वेस्टइन्डिजको बलिंगमा फिडेल एडवार्डसले २ ( ३-०-१९-२ ) तथा ड्वेन ब्राभो र ओबेद म्याकोयले समान १ विकेट लिए।
सिरिजको उत्कृस्ट खेलाडी देब्रे हाते स्पिनर तब्रेज शाम्सी चुनिए जसले ५ खेलमा ७ विकेट लिए जुन क्रममा मात्र ४ रन प्रतिओभर रन खर्चिए। ५ खेलमा २० ओभर बलिंग गर्दा उनले मात्र ८० रन खर्चिए।
सिरिज अन्तर्गत पहिलो र चौथो खेल वेस्टइन्डिजले क्रमशः ८ विकेट र २१ रनले जितेको थियो भने दोश्रो र तेश्रो खेल दक्षिण अफ्रीकाले १६ रन र १ रनले जितेको थियो।
