रोमान्चक दोश्रो खेलमा इंग्ल्यान्ड महिला टिमलाई ८ रनले पराजित गर्दै भारतीय महिला टिमले तीन वटा टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा ल्याएको छ।
इंग्ल्यान्डको होभ स्थित काउन्टी मैदानमा सम्पन्न खेलमा भारतले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १४० रन मात्र बनाउन सक्यो।
इंग्ल्यान्डको लागि ओपनर ट्यामी बिउमोन्टले सर्वाधिक ५९ रन बनाईन् जुन् क्रममा ५० बलमा ७ चौका प्रहार गरिन्। कप्तान हिदर नाइटले ३० तथा यमी जोन्सले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १४ औं ओभरमा १०६ रन बनाउदा २ विकेट मात्र गुमाएको थियो। सुरुवाती २ विकेट छिट्टै गुमेपछि तेश्रो विकेटको लागि बिउमोन्ट र नाइटले ७५ रनको साझेदारी गर्दै योगफल एक सय पार गरेका थिए। दुईजना क्रिजमा हुँदा जितको लागि ४२ रन आवस्यक थियो र साथमा ८ विकेट।
तर १४ औं ओभरमा ट्यामी बिउमोन्टलाई दिप्ती शर्माले एलबिडब्लु गरिन् भने लगत्तै बलमा हिदर नाइट रन आउट हुन पुगिन्। त्यसपछि भारतले किफायती बलिंग गर्दै तथा विकेट निकाल्दै खेलमा दबाब बनायो।
जितको लागि ३ ओभरमा २६ रन आवस्यक हुँदा पुनम यादवले १७ औं ओभरमा मात्र ३ रन खर्चेर १ विकेट हात पारिन्। लगत्तै ओभरमा दिप्ती शर्माले मात्र ६ रन खर्चिन्। अन्तिम २ ओभरमा १८ रन आवस्यक रहंदा पुनमले १९ औं ओभरमा मात्र ४ रन खर्चेर १ विकेट हात पारिन्। अन्तिम ओभरमा १४ रन आवस्यक रहंदा स्नेह रानाले मात्र ५ रन खर्चिन् र भारतलाई जित दिलाईन्।
१०६/२ को अवस्थाबाट थप ३४ रन जोड्दा इंग्ल्यान्डले सम्पूर्ण विकेट गुमाउन पुग्यो।
भारतको बलिंगमा लेग स्पिनर पुनम यादवले सर्वाधिक २ विकेट ( ४-०-१७-२ ) हात पारिन् भने अरुनधति रेड्डी र दिप्ती शर्माले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट क्षेतीमा १४८ रन बनाएको थियो।
भारतको लागि ओपनर शफाली वर्माले सर्वाधिक ४८ रन बनाइन्। कप्तान हर्मनप्रित कौरले ३१, दिप्ती शर्माले अविजित २४ तथा स्मृति मन्धनाले २० रन योगदान दिए। स्मृति र शफालीले ७० रनको ओपनिंग साझेदारी तथा तेश्रो विकेटको लागि हर्मनप्रित र दिप्तीले ४० रनको साझेदारी गरेका थिए।
इंग्ल्यान्डको बलिंगमा नताली स्किभर, फ्रेया डेभिस, सराह ग्लेन र म्याडी भिल्लीयर्सले समान १ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेल इंग्ल्यान्डले १८ रनले जितेको थियो। सिरिजको अन्तिम तथा निर्णायक खेल जुलाई १४ तारिखमा खेलिनेछ।
