दुई नेपाली राष्ट्रिय क्रिकेटर बसन्त रेग्मी र पृथु बास्कोटा अमेरिकामा सम्मानित भएका छन्। भेट्रान देब्रे हाते स्पिनर रेग्मी र ब्याट्सम्यान बास्कोटालाई आइतबार अमेरिकाको मेरिल्याण्ड राज्यले सम्मान गरेको हो।
मेरील्याण्ड राज्यका डेलिगेट रहेका नेपाली मुलका ह्यारी भण्डारीबाट उनीहरु सम्मानित भएका हुन्। यो मेरील्याण्ड राज्यको उच्च सम्मान मध्येको हो।
नेपालमा क्रिकेटमा गरेको योगदान दिंदै तथा आगामी पुस्ताको लागि प्रेरणा बनेकोमा मेरील्याण्ड राज्यको जेनरल एसेम्बलीले उक्त सम्मान दिएको हो। सम्मान कार्यक्रममा नेपाली राइनोज अल स्टार्सका संस्थापक आशिक लामा लगायत उत्सव सिग्देल र रमेश भट्टको उपस्थिति रहेको थियो।
दुई क्रिकेटर करिब तिन महिना देखि नेपाली राइनोज अल स्टार्स क्लबबाट अमेरिकामा बिभिन्न क्रिकेट प्रतियोगिता सहभागी हुँदै आएका छन्। गत साता दुई क्रिकेटर नेपाली राइनोज अल स्टार्स क्लबबाट एलए ओपन टि-२० प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगितामा अलस्टार्स क्वार्टरफाइनल यात्रा गर्न सफल भएको थियो।
बसन्तले अमेरिकाको माइनर लिग क्रिकेट खेल्ने
जुलाई ३१ तारिख देखि अमेरिकी क्रिकेट बोर्डको आयोजनामा सुरु हुने माइनर लिग क्रिकेटमा बसन्त रेग्मी हलिवुड मास्टर बलास्टर्स क्लबबाट खेल्ने पक्का भैसकेको छ। मास्टर बलास्टर्समा पूर्व राष्ट्रिय क्रिकेटर कनिस्क चौगाईं समेत रहेका छन्। अमेरिकी राष्ट्रिय क्रिकेटर निसर्ग पटेल टिमको कप्तान रहेका छन्।
पृथु बास्कोटाले पनि उक्त लिग खेल्नेछन् तर टिमको भन्ने टुंगो लागिसकेको छैन। बास्कोटालाई समाबेश गर्न दुई वटा टिम इच्छुक रहेको जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।
Here’s a warm welcome to our Nepal tiger #BasantRegmi . We hope to have a great tournament with you 🏏#HollywoodMasterBlasters #MiLC #MinorLeagueCricket #TeamHollywood #USACricket #MLC @usacricket @MiLCricket @nepalcricket_ @MiLCUSA pic.twitter.com/9UuUr8Zi15
— Hollywood Master Blasters (@HollywoodMiLC) July 9, 2021
४० लाख डलर लागतमा आयोजना हुने माइनर लिग क्रिकेटमा अमेरिका भरको २१ शहरका २७ वटा टिमले सहभागिता जनाउनेछन्। अमेरिकामा आयोजना हुने मध्येको यो उच्चस्तरीय प्रतियोगिता मध्येको हो। दश हफ्ता चल्ने प्रतियोगितामा लिगमा कुल २०८ वटा खेल खेलिनेछन्। अमेरिकाको घरेलु क्रिकेट प्रतियोगिताको विकासको लागि यो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा गरेको प्रदर्शनले राष्ट्रिय क्रिकेट टिमको समेत ढोका खोल्न सक्नेछ।
२०१९ जुलाईमा सिंगापुरमा सम्पन्न आईसीसी टि-२० विश्वकप एसिया छनोट खेलेपछि बसन्त रेग्मीले नेपाली राष्ट्रिय टिमबाट प्रतियोगिता खेलेका छैनन्। घरेलु क्रिकेटमा भने रेग्मीले यो वर्ष प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कपमा शशस्त्र प्रहरी बलको प्रतिनिधित्व गरेका थिए। २०१५ पछि रास्ट्रिय टिममा पुनरागमन गर्न नसकेका बास्कोटालाई अमेरिकामै रहंदा विश्वकप लिग-२ को लागि टिममा समाबेश गरिएता पनि व्यक्तिगत कारणले उनले नाम फिर्ता लिएका थिए।
