क्रिस गेलले आक्रामक ब्याटिंग गर्दा तेश्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै वेस्टइन्डिजले पाँच खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिज २ खेल अगावै ३-० ले जित्न सफल भएको छ।
वेस्टइन्डिजले सन् १९९५ पछि कुनै पनि फर्म्याटमा अस्ट्रेलिया बिरुद्ध एक भन्दा बढी खेलको सिरिज जितेको यो नै पहिलो अवसर हो। टि-२० अन्तर्राष्ट्रियमा यो अस्ट्रेलिया बिरुद्ध एक भन्दा बढी खेल खेलिएको पहिलो सिरिज जित हो।
सेन्ट लुसिया स्थित डेरेन स्यामी नेसनल स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको १४२ रनको लक्ष्य वेस्टइन्डिजले १४.५ ओभरमा ४ विकेट क्षेतीमा भेटायो।
ओपनर आन्द्रे फ्लेचर पहिलो ओभरमा आउट भएपछि क्रिजमा आएका क्रिस गेलले एक किनार सम्हाले। अगेलले दोश्रो विकेटको लागि लेन्डल सिमोन्ससंग ३८ रनको तथा तेश्रो विकेटको लागि निकोलस पुरनसंग ६७ रनको साझेदारी गर्न। १२ औं ओभरमा गेललाई राईली मेरेडीथले क्याच आउट गराए जति बेला वेस्टइन्डिज जित नजिक पुगीसकेको थियो। त्यसपछि निकोलस पुरन र आन्द्रे रसेलले टिमलाई जितसम्म डोर्याए।
यस अघि लगातार फ्लप भएका ४१ वर्षीय गेलले पुनरागमन इनिंग्स खेल्ने क्रममा मात्र ३८ बलमा ६७ रन बनाए जुन क्रममा उनले ४ चौका र ७ छक्का प्रहार गरे। टि-२० अन्तर्राष्ट्रियमा गेलको यो १३ औं अर्धशतक हो। यस्तै गेल टि-२० क्रिकेटमा १४ हजार रन पुरा गर्ने इतिहासकै पहिलो ब्याट्सम्यान पनि बनेका छन्। दोश्रो ओभरमा जोश हेजलवुडलाई १ छक्का र ३ चौका लगातार प्रहार गरेका गेलले लेग स्पिनर एडम जाम्पा बिरुद्ध झनै आक्रामक देखिएका थिए। उनले जम्पाले गरेको ११ औं ओभरमा गेलले लगातार ३ छक्का प्रहार गर्दै ३४ बलमा अर्धशतक पुरा गरेका थिए। लगत्तै ओभरमा राइली मेरेडीथलाई पनि उनले लगातार २ छक्का हिर्काए।
निकोलस पुरनले ३२ रन तथा लेन्डल सिमोन्सले १५ रन योगदान दिए। आन्द्रे रसेल ७ रनमा अविजित रहे।

यस अघि टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १४१ रन बनाएको थियो।
अस्ट्रेलियाको लागि मोइसेस हेनरिक्सले सर्वाधिक ३३, कप्तान आरोन फिन्चले ३०, एस्टन टर्नरले २४ तथा म्याथु वेडले २३ रन योगदान दिए।
फिंचले वेडसंग ४१ रनको ओपनिंग साझेदारी गरेका थिए। पाँचौ ओभरमा वेडलाई ओबेद म्याकोयले बोल्ड गरेपछि अस्ट्रेलियाले लगातार विकेट गुमायो। लेग स्पिनर हेडन वाल्सले एलेक्स केरी र फिंचलाई पेभेलियन फर्काउदा अस्ट्रेलिया ८०/४ को अवस्थामा पुग्यो। त्यसपछि पाँचौ विकेटको लागि हेनरिक्सले टर्नरसंग ५९ रनको साझेदारी गरे। दुवै ब्याट्सम्यान अन्तिम ओभरमा आउट भए।
अस्ट्रेलियाले इनिंग्सको अन्तिम ३ ओभरमा १७ रन मात्र बनाउन सक्यो जसले गर्दा चुनौतीपूर्ण योगफल बनाउन चुक्यो।
वेस्टइन्डिजको बलिंगमा हेडन वाल्सले २ विकेट ( ४-०-१८-२ ) लिंदा ओबेद म्याकोय ( १-०-९-१ ) , ड्वेन ब्राभो ( ३-०-१७-१ ) र फाबियन एलेन ( ४-०-२६-१ ) ले समान १ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल वेस्टइन्डिजले १८ रन र ५६ रनले जितेको थियो। सिरिज अन्तर्गत चौथो खेल जुलाई १४ तारिखमा खेलिनेछ।
