दक्षिण अफ्रीका बिरुद्ध आयरल्याण्डको ऐतिहासिक जित

२०७८ असार २९, मंगलवार २३:१८

दोश्रो खेलमा दक्षिण अफ्रीकालाई ४३ रनले पराजित गर्दै घरेलु टोलि आयरल्याण्डले तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

आयरल्याण्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै दक्षिण अफ्रीकालाई पराजित गरेको यो पहिलो अवसर हो।

डब्लिन स्थित, द भिलेजमा सम्पन्न खेलमा आयरल्याण्डले दिएको २९१ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रीकाले ४८.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रीकाको लागि ओपनर जानेमन मलानले सर्वाधिक ८४ रन बनाए जुन क्रममा ९६ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। रासी भान डर डुसेनले ४९ रन तथा डेभिड मिलरले २४ रन बनाए।

मलानले तेश्रो विकेटको लागि भान डर डुसेनसंग १०८ रनको साझेदारी गर्दा दक्षिण अफ्रीका १५९/२ को अवस्थामा थियो। तर ३३ औं ओभरमा मलान र ३४ औं ओभरमा डुसेनलाई जर्ज डकरेल र एन्डी म्याकब्रायनले पेभेलियन फर्काउदै आयरल्याण्ड खेलमा हावी बन्यो।

आयरल्याण्डको बलिंगमा मार्क अडीर, जोशुवा लिटल र एन्डी म्याकब्रायनले समान २ विकेट लिए भने क्रेग योंग, सिमि सिंह र जर्ज डकरेलले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेट क्षेतीमा २९० रन बनाएको थियो।

बालबर्नीले शतक बनाए

आयरल्याण्डको ब्याटिंगमा पनर एन्डी बालबर्नीले शतकीय योगदान दिए। करियरको सातौँ शतक बनाउने क्रममा उनले ११७ बलमा १० चौका र २ छक्का प्रहार गरे। यस्तै ह्यारी टेक्टरले ७९ रन बनाए जुन क्रममा ६८ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। जर्ज डकरेलले २३ बलमा ५ चौका र २ छक्का मद्दतले ४५ रन बनाए। एन्डी म्याकब्रायनले ३० तथा पल स्टरलिंगले २७ रन बनाए।

बालबर्नीले स्टरलिंगसंग ६४ रनको ओपनिंग, दोश्रो विकेटको लागि म्याकब्रायनसंग ६० रनको तथा तेश्रो विकेटको लागि टेक्टरसंग ७० रनको साझेदारी गरे। ४२ औं ओभरमा बालबर्नीलाई कागीसो रबाडाले क्याच आउट गराए। चौथो विकेटको लागि टेक्टरले डकरेलसंग ९० रनको साझेदारी गरे। इनिंग्सको अन्तिम ५ ओभरमा आयरल्याण्डले ६५ रन योगफलमा जोड्यो।

दक्षिण अफ्रीकाको बलिंगमा एन्डीले फेलुक्वायोले २ तथा कागीसो रबाडा, केशव महाराज र तब्रेज शाम्सीले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल वर्षाको कारण पुरा हुन सकेको थिएन। सिरिज अन्तर्गत तेश्रो तथा निर्णायक खेल जुलाई १६ तारिखमा खेलिनेछ जसपछि जुलाई २० तारिखबाट तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy