कप्तान बाबर आजमले करियरकै उत्कृस्ट प्रदर्शन गरेता पनि भ्रमण टोलि पाकिस्तान इंग्ल्यान्ड बिरुद्ध तेश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ३ विकेटले पराजित भएको छ। जितसंगै अधिकांश नयाँ खेलाडी सम्मिलित घरेलु टोलि इंग्ल्यान्डले सिरिज ३-० ले क्लिन स्विप गरेको छ।
एजब्यास्टनमा सम्पन्न खेलमा पाकिस्तानले दिएको ३३२ रनको लक्ष्य इंग्ल्यान्डले २ ओभर बाँकी रहँदै ७ विकेट क्षेतीमा भेटायो।
इंग्ल्यान्डको ब्याटिंगमा जेम्स भिन्सले करियरको पहिलो शतक बनाउने क्रममा १०२ रन योगदान दिए जुन क्रममा ९५ बलमा ११ चौका प्रहार गरे। यस्तै लुइस ग्रेगोरीले करियरको पहिलो अर्धशतक बनाउने क्रममा ७७ रन बनाए। ज्याक क्रलेले ३९ , फिलिप साल्टले ३७, कप्तान बेन स्टोक्सले ३२ रन तथा क्रेग ओभरटन र ब्रेडन चेजले अविजित रहँदै क्रमशः १८ र १२ रन बनाए।

३० वर्षीय दायाँ हाते ब्याट्सम्यान भिन्सले ज्याक क्रलेसंग ५१ रनको, बेन स्टोक्ससंग ४७ रनको साझेदारी गरे। शदाव खानले क्रले र स्टोक्सको विकेट लिंदा इंग्ल्यान्ड १६५/५ को अवस्थामा पुगेको थियो। तर त्यसपछि भिन्सले लुइस ग्रेगोरीसंग १२९ रनको साझेदारी गर्दै टिमलाई जितको दिशा दिए। ४३ औं र ४५ औं ओभरमा भिन्स र ग्रेगोरीलाई रौफले क्याच आउट गराएर खेलमा पाकिस्तानलाई फर्काए। तर आठौँ विकेटको लागि ओभरटन र चेजले २९ रनको साझेदारी गर्दै टिमलाई जितसम्म डोर्याए।
पाकिस्तानको बलिंगमा हरिस रौफले सर्वाधिक ४ विकेट ( ९-०-६५-४ ) लिए भने शदाव खानले २ तथा हसन अलिले १ विकेट लिए।
बाबरको कीर्तिमान
यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा ३३१ रन बनाएको थियो।
पाकिस्तानको लागि कप्तान बाबर आजमले व्यक्तिगत १४ औं एकदिवसीय शतक बनाउने क्रममा सर्वाधिक १५८ रन बनाए। आजमले १३९ बलमा १४ चौका र ४ छक्का प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रियमा आजमको यो व्यक्तिगत सर्वाधिक स्कोर हो भने इंग्ल्यान्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तानी ब्याट्सम्यानको सर्वाधिक स्कोर हो। एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमै इंग्ल्यान्ड बिरुद्ध कुनै पनि कप्तानले बनाएको यो सर्वाधिक स्कोर हो।
यस्तै मोहम्मद रिजवानले ७४, इमाम उल हकले ५६ रन तथा फाहिम अशरफले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

तेश्रो नम्बरमा ब्याटिंग गरेका आजमले दोश्रो विकेटको लागि इमाम उल हकसंग ९२ रनको तथा तेश्रो विकेटको लागि मोहम्मद रिजवानसंग १७९ रनको साझेदारी गरे। १७९ रनको साझेदारी इंग्ल्यान्ड बिरुद्ध कुनै पनि विकेटको लागि पाकिस्तानको सर्वाधिक साझेदारी हो। आजम अन्तिम ओभरमा ब्रेडन कारसेबाट क्याच आउट हुन पुगेका थिए।
इंग्ल्यान्डको बलिंगमा ब्रेडन कार्सेले सर्वाधिक ५ विकेट लिए जुन क्रममा १० ओभरमा ६१ रन खर्चिए। सकिब महमुदले ३ विकेट ( १०-२-६०-३ ) तथा म्याथु पार्किन्सनले १ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल इंग्ल्यान्डले ९ विकेट र ५२ रनले जितेको थियो। दुई देश बीच जुलाई १६ तारिख देखि तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।
