भिसा समस्या कारण सन्दिपले ‘द हन्ड्रेड’ गुमाउन सक्ने, दक्षिण अफ्रिकी स्पिनरले प्रतिस्थापन गर्न सक्ने

२०७८ श्रावण ५, मंगलवार ०८:५३

Sandeep Lamichhane ( Photo : Chris Whiteoak / The National )

जुलाई २२ तारिख देखि सुरु हुने ‘द हन्ड्रेड’ लिग खेल्न इंग्ल्यान्डमा रहेका सन्दिप लामिछानेले भिसा समस्याका कारण सुरुवाती खेल अथवा प्रतियोगितानै गुमाउने सम्भावना रहेको छ।

जुलाई ९ तारिखमा इंग्ल्यान्ड पुगेका सन्दिपले सोमबार सरकारी मान्यता प्राप्त होटलमा १० दिने क्वारेन्टाइन अवधि पुरा गरेका थिए। लिगमा सन्दिपलाई ओभल इन्भिन्सिबल टिमले ६० हजार पाउण्ड स्टरलिंगमा समावेश गरेको थियो। नेपाली स्पिनर पहिलो पटक इंग्ल्यान्डको लिग खेल्न छानिएका हुन्। यो वर्ष जनवरीमा अस्ट्रेलियाको बिग ब्यास लिगमा सहभागिताको ६ महिना पछि पहिलो पटक सन्दिपले विदेशी लिग खेल्न इंग्ल्यान्ड पुगेका थिए।

ईएसपीएन क्रिक्इन्फोको रिपोर्ट अनुसार नेपाली लेग स्पिनर ‘टियर ५ भिसा’ Tier 5 Visa मा इंग्ल्यान्ड पुगेका कारण देश प्रवेश गर्न पाएता पनि उक्त भिसामा प्रतियोगिता खेल्न भने अनुमति नपाएका हुन्। भिसा समस्याकै कारण ‘द हन्ड्रेड’ खेल्न जाने क्रममा पाकिस्तानी बलर वहाव रियाजलाई पनि एअरपोर्टबाट फिर्ता पठाइएको थियो।

“वर्तमान अवस्थामा हामि निश्चित छैनौ” द हन्ड्रेड लिग टिम ओभल इन्भिन्सिबलका कप्तान स्याम बिलिंग्सले बताए। मैले आज मात्रै यो कुरा थाहा पाए, आशा गरौँ उनले खेल्न पाउनेछन्। बिभिन्न प्रतिवन्धहरुका कारण धेरै खेलाडीहरुको लागि यो कठिन समय हो। आशा गर्छु यो समस्या समाधान हुनेछ। उनि विशेष प्रतिभा हुन्।”  बिलिंग्सले थपे।

‘टियर ५ भिसा’ अस्थाई काम गर्न इंग्ल्यान्ड पुग्नेहरु तथा नाम चलेका खेलाडीहरुलाई समेत दिईने भिसा हो तर पनि सन्दिपले अनुमति नपाउनुको कारण खुलेको छैन। विकेटनेपालले सन्दिपको व्यवस्थापनसंग समस्याबारे बुझ्न सम्पर्क गर्न खोजेता पनि सम्पर्क हुन सकेको छैन। उनको समस्या समाधानको लागि के कस्ता प्रयासहरु भएका छन् जानकारी प्राप्त हुनसकेको छैन।

दक्षिण अफ्रिकी स्पिनर शाम्सीले सन्दिपलाई प्रतिस्थापन गर्ने सम्भावना रहेको छ

सन्दिपले सुरुवात खेल गुमाउने निश्चित देखिएका कारण ओभलले म्यानचेस्टर ओरिजिनल बिरुद्ध जुलाई २२ तारिखमा पहिलो खेलको दौरान दुई जना विदेशी खेलाडी मात्र लिएर खेल्ने सम्भावना प्रवल भएको छ। अन्तिम-११ मा टिमले तिन जना विदेशी खेलाडी राख्न पर्ने नियम छ। टिममा सन्दिप बाहेक कोलिन इन्ग्राम र सुनिल नारायणको रुपमा अन्य विदेशी खेलाडी रहेका छन्।

क्रिक्इन्फोका अनुसार यदी सन्दिपले प्रतियोगिता खेल्न नपाएको खण्डमा विश्व नम्बर-१ दक्षिण अफ्रिकी रिस्ट स्पिनर तब्रेज शाम्सीले सन्दिपलाई प्रतिस्थापन गर्न सक्नेछन्। शाम्सी हाल आयरल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलीरहेका छन् जुन जुलाई २४ तारिखसम्म चल्नेछ।

यस अघि इंग्ल्यान्डकै टि-२० ब्लास्ट प्रतियोगितामा भिसा समयमा नआएपछि सन्दिपले प्रतियोगितानै गुमाउनु परेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy