दुई दिन पछि इंग्ल्यान्डमा सुरु हुने पहिलो संस्करणको ‘द हन्ड्रेड’ लिग खेल्न इंग्ल्यान्ड पुगेका सन्दिप भिसा समस्याका कारण घर फर्कनुपर्ने भएको छ। प्रतियोगिता खेल्न ११ दिन अघि इंग्ल्यान्ड पुगेका नेपाली स्पिनरले १० दिन सरकारी मान्यताप्राप्त क्वारेन्टाइनमा बिताएका थिए। तर क्वारेन्टाइन सकिनु दुई दिन अघि उनलाई इंग्ल्यान्ड क्रिकेट बोर्ड ( ईसीबि ) ले भिसा अवैध बताउदै तुरुन्त इंग्ल्यान्ड छोडेर घर फर्कन निर्देशन दिएको थियो।
सामाजिक संजालमा सन्दिपले निराशा व्यक्त गर्दै इंग्ल्यान्ड क्रिकेट बोर्डले आफ्नो भिसा एक्कासी कसरि अवैध भएको कारण सोधेका छन्। बोर्डको निर्देशन अनुरुप सबै प्रक्रिया पुरा गरेर देश प्रवेश गर्दै क्वारेन्टाइन समेत बसीसकेपछि एक्कासी कसरि भिसा अवैध भयो भन्दै सन्दिपले लामो फेसबुक पोस्ट लेखेका छन्। उनले लेखेका छन् –
“म द हन्ड्रेड गुमाउनु पर्दा निराश छु। म ओभल इन्भिन्सिबलबाट खेल्न उत्साहित थिए जसको लागि इंग्ल्यान्ड क्रिकेट बोर्डको अधिकारीहरुले दिएको सबै निर्देशन पालना गरेको थिएँ।”
“जब मैले टियर-५ भिसाको लागि आवेदन दिएको थिए त्यस बेला टि-२० ब्लास्ट र द हन्ड्रेडमा मेरो सहभागिताको लागि एउटा प्रायोजन प्रमाणपत्र मात्र पर्याप्त भएको बताईएको थियो। कोभिड-१९ को स्थितिको कारण मेरो भिसामा ढिलाई भएका कारण वर्सेस्टरशायरले मेरो अनुबन्ध रद्द गर्यो। तर मलाई अधिकारीहरुले पुनः सुचित गर्दै जुलाई १० भन्दा अघि इंग्ल्यान्ड आएको खण्डमा मेरो COS सक्रिय हुने जानकारी गरिएको थियो।”

“म युके जुलाई ९ तारिखमा आईपुगे जुन दौरान इमिग्रेसनमा कुनै समस्या थिएन र म सरकारी मान्यताप्राप्त क्वारेन्टाइनमा पुगे। तर क्वारेन्टाइन अवधि पुरा हुनु दुई दिन अघि मलाई १८ जुलाईमा इंग्ल्यान्ड क्रिकेट बोर्डले बतायो कि भिसा वैध छैन र मैले सक्दो छिटो देश छोड्नु पर्नेछ।”
“म सोधीरहेको छु कि के गलत भयो जसको जवाफ इंग्ल्यान्ड क्रिकेट बोर्डसंग छैन। म बुझ्न सक्छु कि परिस्थिति कुनै पनि बेला प्रतिकुल हुनसक्छ तर कम्तिमा मलाई यो कुरा को स्पस्ट जवाफको हकदार छु कि कि मेरो वैध भिसा एक्कासी कसरी अवैध भयो।”
“मैले यो प्रतियोगिताको हिस्सा बन्न धेरै त्याग गरेको छु र सबै टिमहरुलाई शुभकामना दिन्छु। मलाई युकेको जनताहरुले सधै माया दिएका छन् र म इंग्ल्यान्ड क्रिकेट बोर्डलाई यो घटनालाई नियाल्न आग्रह गर्छु ताकी अरुले यस्तो समस्या भोग्न नपरोस्। म उनीहरुको लागि पनि दुखित छु जो मेरो यो प्रतियोगितामा सहभागिताको लागि उत्साहित थिए। अगाडी सुखद दिन आउनेछ।” सन्दिपले लेखेका छन्।
Such a shame.👊
— Sandeep Lamichhane (@Sandeep25) July 20, 2021
लिगमा सन्दिपलाई ओभल इन्भिन्सिबल टिमले ६० हजार पाउण्ड स्टरलिंगमा समावेश गरेको थियो। । नेपाली स्पिनर पहिलो पटक इंग्ल्यान्डको लिग खेल्न छानिएका थिए। यस अघि इंग्ल्यान्डकै टि-२० ब्लास्ट प्रतियोगितामा भिसा समयमा नआएपछि वर्सेस्टरसायरले अनुबन्ध रद्द गर्दा सन्दिपले प्रतियोगितानै गुमाउनु परेको थियो।
सन्दिपले प्रतियोगिता गुमाउने भएपछि ओभल इन्भिन्सिबलले प्रतिस्थापको रुपमा नम्बर-१ टि-२० अन्तर्राष्ट्रिय बलर दक्षिण अफ्रीकाका रिस्ट स्पिनर तब्रेज शाम्सीलाई समाबेश गर्ने बताईएको छ। शाम्सी हाल आयरल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलीरहेका छन् जुन जुलाई २४ तारिखसम्म चल्नेछ।
ओभल इन्भिन्सिबलले लिग अन्तर्गत म्यानचेस्टर ओरिजिनल बिरुद्ध जुलाई २२ तारिखमा पहिलो खेल खेल्नेछ । खेलको अन्तिम-११ मा टिमले तिन जना विदेशी खेलाडी राख्न पर्ने नियम छ। टिममा कोलिन इन्ग्राम र सुनिल नारायण अन्य दुई विदेशी खेलाडी रहेका छन्। ‘ओभल इन्भिन्सिबल’ ले उनको स्थानमा दक्षिण अफ्रिकी देब्रे हाते रिस्ट स्पिनर तब्रेज शाम्सीलाई प्रतिस्थापनको रुपमा टिममा अनुबन्ध गरेको बताईएको छ। शाम्सी ढिला इंग्ल्यान्ड पुग्ने हुँदा उनको स्थानमा मिडलसेक्सबाट खेलीरहेका अस्ट्रेलियन लेग स्पिनर नाथन सोटरले लिनेछन्।
नयाँ फर्म्याटमा आयोजना हुने लिग इंग्ल्यान्ड क्रिकेट बोर्डको महत्वकांक्षी प्रतियोगिता हो जसबाट इंग्ल्यान्डले नयाँ दर्शकहरुको खेल प्रति रुची बढोस् भन्ने चाहन्छ। यो फर्म्याटमा एउटा इनिंग्स मात्र १०० बलको हुनेछ भने एउटा बलरले खेलमा २० बल बलिंग गर्न पाउनेछ। बलरले ५ बल अथवा कप्तानले चाहे अनुसार लगातार १० बल सम्म पनि गर्न पाउने नियम रहेको छ। १० बल बलिंग गरेपछि मात्र फिल्डिंग टिमले बलिंग गर्ने दिशा परिवर्तन गर्न पाउनेगर्छ। २५ बलको पावरप्ले हुनेछ जसमा २ जना फिल्डर ३० यार्ड सर्कल बाहिर बस्न पाउनेछ।
लिगमा ओभल इन्भिन्सिबल सहित म्यानचेस्टर ओरिजिनल्स, वेल्स फायर, लण्डन स्पिरिट, साउदर्न ब्रेभ, बर्मिन्घम फोनिक्स, ट्रेन्ट रकेट्स, नर्दर्न सुपरचार्जर्स गरि कुल ८शहरको टोलि सहभागी रहेका छन्।
