स्टार्कले घातक बलिंग गर्दा वेस्टइन्डिजको लज्जास्पद हार

२०७८ श्रावण ६, बुधबार ०८:३२

अस्ट्रेलिया बिरुद्ध तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा वेस्टइन्डिज कमजोर प्रदर्शन गर्दै १३३ रनको विशाल अन्तरले पराजित भएको छ। यस अघि टि-२० अन्तर्राष्ट्रिय सिरिज ४-१ ले गुमाएको अस्ट्रेलियाले एकदिवसीय सिरिजमा उत्कृस्ट पुनरागमन गर्दै १-० को अग्रता लिएको छ।

बार्बेडोस स्थित केनिंगटन ओभल स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको २५७ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले २६.२ ओभरमा सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले पहिलो ६ विकेट २७ रनको योगफलमै गुमाउन पुगेको थियो। मिचेल स्टार्क र जोश हेजलवुडले ३/३ विकेट लिंदै घरेलु टोलिको मथिल्ल्लो क्रम ध्वस्त पारे। इभिन लुइस, निकोलस पुरन र जेसन होल्डरले खाता समेत खोल्न सकेनन्।

छैठौं नम्बरमा ब्याटिंग गरेका कप्तान काइरन पोलार्डले अल्जारी जोसेफसंग ६८ रनको साझेदारी गरे। ५७ बलमा ५ चौका र ३ छक्का मद्दतले ५६ रन बनाएका पोलार्डलाई मिचेल स्टार्कले क्याच आउट गराए जसपछि वेस्टइन्डिज इनिंग्स पुनः धरासायी बन्न पुग्यो। जोसेफले १७ तथा हेडन वाल्शले २० रन योगदान दिए।

अस्ट्रेलियाको बलिंगमा देब्रे हाते पेसर मिचेल स्टार्कले ५ विकेट लिए जुन क्रममा ८ ओभरमा १ मेडन ओभर गर्दै ४८ रन खर्चे। एकदिवसीय अन्तर्राष्ट्रिय करियरमा एकै खेलमा स्टार्कले ५ विकेट लिएको यो पाँचौ पटक हो। अर्का पेसर जोश हेजलवुडले ३ विकेट ( ६-१-११-३ ) लिए भने एडम जाम्पा र मिचेल मार्शले समान १ विकेट लिए।

वाल्सको ५ विकेट, केरीको कप्तानी पारि 

यस अघि टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले ४९ ओभरमा ९ विकेट गुमाएर २५२ रन बनाएको थियो। वर्षाले ४९ ओभरमा खेल रोकिंदा डीएलएस मेथड अनुसार वेस्टइन्डिजलाई २५७ रनको नयाँ लक्ष्य दिईएको थियो।

अस्ट्रेलियाको लागि फिंचको स्थानमा कप्तानी गरेका एलेक्स केरीले सर्वाधिक ६७ रन योगदान दिए जुन क्रममा उनले ८७ बलमा ५ चौका र २ छक्का प्रहार गरे। एस्टन टर्नरले ४९, जोश फिलिपेले ३९, बेन म्याकडरमोटले २८ तथा मिचेल मार्शले २० रन योगदान दिए।


१११/४ को अवस्थामा पाँचौ नम्बरमा ब्याटिंग गरेका केरीले पाँचौ विकेटको लागि टर्नरसंग ११४ रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए। केरीलाई हेडन वाल्सले ४५ औं ओभरमा बोल्ड गरे भने टर्नरलाई पनि वाल्सले क्याच आउट गराए।

वेस्टइन्डिजको बलिंगमा लेग स्पिनर हेडन वाल्सले ५ विकेट लिए जुन क्रममा १० ओभरमा ४९ रन खर्चिए। एकदिवसीय अन्तर्राष्ट्रियमा एकै खेलमा ५ विकेट लिएको वाल्सको यो पहिलो अवसर हो। यस्तै अकिल होसेन ( १०-१-५०-२ ) र अल्जारी जोसेफ ( १०-०-४०-२ ) ले समान २ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल जुलाई २२ तारिखमा तथा तेश्रो खेल जुलाई २४ तारिखमा खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy