संकटमा मिलरको उत्कृस्ट इनिंग्स, दक्षिण अफ्रीकाको कीर्तिमानी जित

२०७८ श्रावण ८, शुक्रबार ००:०९

दोश्रो खेलमा आयरल्याण्डलाई ४२ रनले सहजै पराजित गर्दै भ्रमण टोलि दक्षिण अफ्रीकाले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी रहंदा २-० ले आफ्नो पक्षमा पारेको छ।

४२ रनको जित आयरल्याण्ड बिरुद्ध दक्षिण अफ्रीकाको टि-२० अन्तर्राष्ट्रिय इतिहासमै आयरल्याण्ड बिरुद्ध रन अन्तरको आधारमा ठूलो जित हो। टि-२० अन्तर्राष्ट्रियमा आयरल्याण्डको यो नवौं ठूलो रन अन्तरको हार हो।

बेलफास्ट स्थित सिभिल सर्भिस क्रिकेट मैदानमा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको १६० रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले १९.३ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो।

आयरल्याण्डको ब्याटिंगमा शाने गेटकाटेले सर्वाधिक २४, जर्ज डकरेलले २०, पल स्टरलिंगले १९ तथा मार्क अडेरले अविजित १४ रन योगदान दिए।

दक्षिण अफ्रिकाको बलिंगमा देब्रे हाते स्पिनर बिजोर्न फोर्चुन ( ४-१-१६-३ ) र चाइनाम्यान बलर तब्रेज शाम्सीले ( ४-०-१४-३ ) समान ३ विकेट लिए। बुरान हेनड्रिक्सले २ ( ४-०-२८-२ ) तथा एडेन मारक्रमले १ विकेट ( २-०-१७-१ ) लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १५९ रन बनाएको थियो।

दक्षिण अफ्रीकाको ब्याटिंगमा डेभिड मिलरले सर्वाधिक ७५ रन बनाए। अविजित रहेका उनले ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। यस्तै वियान मल्डरले ३६ तथा क्विन्टन डीककले २७ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

खराब सुरुवात गरेको दक्षिण अफ्रीकाले पहिलो ५ विकेट ५८ रनको योगफलमा गुमाएको थियो। पहिलो ओभरमा पल स्टरलिंगले टेम्बा बभुमा र जानेमन मलानलाई खाता नखोली पेभेलियन फर्काएका थिए। त्यसपछि एडेन मारक्रम, भान डर डुसेन पनि क्रिजमा जम्न सकेनन्। छैठौं विकेटको लागि मिलरले मुल्डरासंग ५८ रनको साझेदारी गर्दै योगफल १ सय पार गरे।

इनिंग्सको अन्तिम ओभरमा मिलरले जोशुवा लिटलको ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का सहित कुल ४ छक्का प्रहार गर्दै २४ रन बटुलेर योगफल १५० पार गराएका थिए।

आयरल्याण्डको बलिंगमा पल स्टरलिंग ( ३-०-१२-२ ) र मार्क अडेर ( ४०-३३-२ ) ले समान २ विकेट लिए। यस्तै क्रेग योंग, जोशुला लिटल र सिमि सिंहले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रीका ३३ रनले विजयी भएको थियो। जुलाई २४ तारिखमा सिरिजको अन्तिम खेल खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy