द हन्ड्रेड : मोईन अलि कप्तानीको बर्मिंघम ३ विकेटले विजयी

२०७८ श्रावण ९, शनिबार ०९:४४

इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय राति सम्पन्न लिगको दोश्रो खेलमा मोईन अलि कप्तानीको बर्मिंघम फोनिक्सले ओएन मोर्गन कप्तानीको लन्डन स्पिरिटलाई ३ विकेटले पराजित गरेको छ।

बर्मिंघमको घरेलु मैदान एजब्यास्टनमा सम्पन्न खेलमा लन्डनले दिएको १४५ रनको लक्ष्य बर्मिंघमले ३ बल बाँकी रहंदा भेटायो।

बर्मिंघमको लागि कप्तान मोईन अलिले सर्वाधिक ४० रन योगदान दिए भने क्रिस बेन्जामिनले अविजित २४ रन, लियाम लिभिंगस्टोनले १९ रन, बेनी होवेलले १७ तथा फिन एलेनले ११ रन योगदान दिए।

१२१ रनमा ६ विकेट गुमाएको अवस्थामा क्रिस बेन्जामिनलेले सातौँ विकेटको लागि क्रिस कुकसंग मात्र १० बलमा २३ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याएका थिए।

लन्डनको बलिंगमा मोहम्मद आमिर र बलेक कलेनले समान २ विकेट तथा क्रिस वुड, मोहम्मद नाबी र रोलेफ भान डर मर्वेले समान १ विकेट लिए।


यस अघि टस हारेर ब्याटिंग गरेको लन्डनले निर्धारित १०० बलमा ६ विकेट गुमाएर १४४ रन बनएको थियो।

लन्डनको लागि ओपनर ज्याक क्रलेले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ४० बलमा ६ चौका र ३ छक्का प्रहार गरे। जो डेनलिले २५ तथा रभी बोपराले १७ रन बनाए। कप्तान मोर्गनले १३ रन बनाए।

बर्मिंघमको बलिंगमा एडम मिल्ने, टम हेल्म र बेनी होवेलले समान २ विकेट लिए।

खेलको हिरो पराजित टिमका ज्याक क्रले चुनिए।

लिग अन्तर्गत हिजो सम्पन्न पहिलो खेलमा ओभल इन्भिन्सिबलले विजयी सुरुवात गरेको थियो।

लिगमा ओभल इन्भिन्सिबल सहित म्यानचेस्टर ओरिजिनल्स, वेल्स फायर, लण्डन स्पिरिट, साउदर्न ब्रेभ, बर्मिन्घम फोनिक्स, ट्रेन्ट रकेट्स, नर्दर्न सुपरचार्जर्स गरि कुल ८ शहरको टोलि सहभागी रहेका छन्।

नयाँ फर्म्याटमा आयोजना हुने लिग इंग्ल्यान्ड क्रिकेट बोर्डको महत्वकांक्षी प्रतियोगिता हो जसबाट इंग्ल्यान्डले नयाँ दर्शकहरुको खेल प्रति रुची बढोस् भन्ने चाहन्छ। यो फर्म्याटमा एउटा इनिंग्स मात्र १०० बलको हुन्छ भने एउटा बलरले खेलमा २० बल बलिंग गर्न पाउछ। बलरले ५ बल अथवा कप्तानले चाहे अनुसार लगातार १० बल सम्म पनि गर्न पाउने नियम रहेको छ। १० बल बलिंग गरेपछि मात्र फिल्डिंग टिमले बलिंग गर्ने दिशा परिवर्तन गर्न पाउने गर्छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy