द हन्ड्रेड : वेल्स फायरको रोमान्चक जित, डी लांगेको प्रदर्शनमा रकेट्स विजयी

२०७८ श्रावण १०, आईतवार ०७:३१

रोमान्चक खेलमा बेन स्टोक्स कप्तानीको नर्दर्न सुपरचार्जर्सलाई ५ रनले पराजित गर्दै जोनी बेयरस्टो कप्तानीको वेल्स फायरले ‘द हन्ड्रेड’ लिगमा विजयी सुरुवात गरेको छ।

लिड्सको हेडिंगलेमा सम्पन्न खेलमा वेल्सले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा पुरै १०० बल ब्याटिंग गरेको नर्दर्न सुपरचार्जर्सले ७ विकेट क्षेतीमा १६८ रन मात्र बनाउन सक्यो।

जितको लागि अन्तिम ५ बलमा ११ रन आवस्यक हुँदा दायाँ हाते पेसर जेक बलले मात्र ५ रन खर्चदै रोमान्चक जित दिलाए। उनले सबै ५ बलमा १ रन मात्र खर्चिए।

नर्दर्न सुपरचार्जर्सको ब्याटिंगमा ह्यारी ब्रुकले सर्वाधिक ६२ रन बनाए जुन क्रममा मात्र ३१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। एडम लिथले २५ तथा म्याटि पोट्सले अविजित २० रन बनाए। ५०/४ को अवस्थाबाट ब्रुकले पाँचौ विकेटको लागि टम कोहलरसंग ६९ रनको साझेदारी गर्दै टिमलाई उकासेता पनि जित सम्म पुर्याउन सकेनन्। ब्रुक ८३ औं बलमा कैस एहमदबाट एलबिडब्लु आउट भए।

कैस एहमदले ४ विकेट लिए

वेल्सको बलिंगमा अफगानि लेग स्पिनर कैस एहमदले सर्वाधिक ४ विकेट लिए जुन क्रममा २० बलमा ८ डट बल गर्दै मात्र १३ रन खर्चिए। म्याथु क्रिचले र जेक बलले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको वेल्सले १०० बलमा ४ विकेट क्षेतीमा १७३ रन बनएको थियो। उसको अगी कप्तान जोनी बेयरस्टोले सर्वाधिक ५६ रन बनाए जुन क्रममा ३६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। बेन डकेटले ४१ रन, जिम्मी निशमले ३० रन तथा ग्लेन फिलिप्सले २३ रन योगदान दिए।

सुपरचार्जर्सको बलिंगमा म्याट पट्स, ब्रेडन कार्स, आदील रशिद र बेन स्टोक्सले समान १ विकेट लिए।

ट्रेन्ट रकेट्सको सहज जित 

लिग अन्तर्गत शनिवारनै सम्पन्न पहिलो खेलमा लुइस ग्रेगरी कप्तानीको ट्रेन्ट रकेट्सले जेम्स भिन्स कप्तानीको साउदर्न ब्रेभलाई ९ विकेटले सहजै पराजित गर्यो। ब्रेभले दिएको १२७ रनको लक्ष्य रकेट्सले ८१ बलमै भेटायो।

रकेट्सको लागि डेविड मलानले सर्वाधिक ६२ तथा ड्यार्सी सर्टले ५१ रन बनाए। मलान र सर्टले दोश्रो विकेटको लागि १२४ रनको अविजित साझेदारी गरे।

यस अघि ब्रेभले १०० बलमा ८ विकेट क्षेतीमा १२६ रन बनाएको थियो। उसको लागि रोस व्हाइटलेले ३९, एलेक्स डेभिडले २१ तथा डेभोन कनवेले १८ रन योगदान दिए।

ब्रेभका दायाँ हाते पेसर मर्च्यान्ट डी लांगे एक्लैले ५ विकेट लिए जुन क्रममा २० बलमा १० डट बल गर्दै २० रन खर्चिए। ५ विकेट लिने डी लांगे लिगकै पहिलो बलर बन्न सफल भएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy