द हन्ड्रेड : रकेट्सको रोमान्चक जितमा राशिदको अलराउण्ड प्रदर्शन

२०७८ श्रावण १२, मंगलवार ०८:१८

राशिद खानले अलराउण्ड प्रदर्शन गर्दा द हन्ड्रेड लिग अन्तर्गत गय राति सम्पन्न रोमान्चक खेलमा लुइस ग्रेग्ररि कप्तानीको ट्रेन्ट रकेट्सले बेन स्टोक्स कप्तानीको नर्दर्न सुपरचार्जर्सलाई २ विकेटले पराजित गरेको छ। लिगमा रकेट्सको यो लगातार दोश्रो जित हो भने सुपरचार्जर्सको लगातार दोश्रो हार हो।

ट्रेन्ट ब्रिज स्टेडियम नटिंघममा सम्पन्न खेलमा नर्दर्न सुपरचार्जर्सले दिएको १३३ रनको लक्ष्य ट्रेन्ट रकेट्सले ९४ बलमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा रकेट्सको सुरुवात राम्रो रहन सकेन। ड्यार्सी सर्ट र एलेक्स हेल्सले २० रनको ओपनिंग साझेदारी गरेपछि मुजिब उर् रहमानले १४ रन बनाएका सर्टलाई एलबिडब्लु पारे। त्यसपछि डेविड मलान र जोए रुटलाई खाता नखोल्दै लगातार बलमा आदील रशिदले पेभेलियन फर्काए।

हेल्सले एक किनार सम्हालेर ब्याटिंग गरेता पनि रकेट्सले निरन्तर विकेट गुमायो। फलस्वरुप रकेट्स ५८/६ को अवस्थामा पुग्यो। जुन अवस्थामा आठौँ नम्बरमा ब्याटिंग गरेका राशिद खान आक्रामक ब्याटिंग गरे। राशिदले मात्र १२ बलमा ४ चौका र १ छक्का मद्दतले २५ रन बनाए। राशिदलाई बेन स्टोक्सले क्याच आउट गराएपछि हेल्सले लुक वुडसंग १८ रन तथा नवौं विकेटको लागि म्याथु कार्टरसंग ३१ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

जितको लागि अन्तिम ११ बलमा २२ रन आवस्यक हुँदा हेल्सले बेन स्टोक्सलाई छक्का प्रहार गरेका थिए। लगत्तै बलमा डेभिड विलिलाई कार्टरले छक्का प्रहार गर्दा जित्न ९ बलमा १० रन आवस्यक रह्यो। जित्न ६ बलमा ६ रन आवस्यक हुँदा हेल्सले विलिलाई छक्का प्रहार गर्दै जित दिलाए।


कार्टरले ८ बलमा १ चौका र १ छक्का मद्दतले अविजित १३ रन बनाए। हेल्सले अविजित ४० रन बनाउने क्रमआम ३४ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

नर्दर्न सुपरचार्जर्सको बलिंगमा मुजिब उर् रहमान, आदील रशिद, कलम पार्किन्सन र कप्तान बेन स्टोक्सले समान २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नर्दर्न सुपरचार्जर्सले ९९ बलमा सबै विकेट गुमाएर १३२ रन बनाएको थियो। उसको लागि जोन सिम्पसनले सर्वाधिक ४२ रन, ह्यारी ब्रुकले ३८ रन तथा एडम लिथले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुरुवाती ३ विकेट ३८ रनमा गुमेपछि ब्रुक र सिम्पसन बीच चौथो विकेटको लागि ६१ रनको साझेदारी भएको थियो। ७४ औं बलमा ब्रुकलाई लुइस ग्रेगरीले क्याच आउट गरे जसपछि सुपरचार्जर्सले लगातार विकेट गुमायो। ९७ औं बलमा सिम्पसनलाई मर्चान्ट डी लांगेले क्याच आउट गराए।

९९ रनमा ३ विकेट गुमाएको सुपरचार्जर्सले थप ३३ रन योगफलमा जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

ट्रेन्ट रकेट्सको बलिंगमा राशिद खान र मर्चान्ट डी लांगेले समान ३ विकेट लिए। राशिदले २० बलमा ३१ रन तथा डी लांगेले १४ बलमा २२ रन खर्चिए। म्याथु कार्टरले २ तथा कप्तान लुइस ग्रेगरीले १ विकेट लिए।

जितपछि लिग अंकतालिकामा ट्रेन्ट रकेट्स ४ अंक सहित पहिलो स्थानमा उक्लेको छ भने सुपरचार्जर्स दुवै खेलमा पराजित हुँदै सातौँ स्थानमा छ।

https://wicketnepal.com/aus-series-2-1-vs-wi-wn21-727/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy