EPL T20 : किंग्स-एघारको कप्तानी सन्दिपलाई

२०७८ श्रावण १८, सोमबार १६:०१

सेप्टेम्बर २५ तारिख ( असोज ९ गते ) देखि सुरु हुने चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग टि-२० मा ( ईपीएल )  काठमाडौँ किंग्स-एघार को कप्तानी टिमको मार्की खेलाडी सन्दिप लामिछानेले गर्ने भएका छन्।

काठमाडौँ किंग्स-एघार ले सामाजिक संजालमार्फत सन्दिपको जन्मदिनको अवसरमा २१ वर्षीय लेग स्पिनरले कप्तानी गर्ने घोषणा गरेको हो।

गत सिजन काठमाडौँ किंग्स-एघार को कप्तानी सोमपाल कामिले गरेका थिए। तर सोमपाललाई चितवन टाइगर्समा ट्रेड गर्दै काठमाडौँले दिपेन्द्र ऐरीलाई टिममा भित्र्याएको थियो।

सन्दिपले नेपाली घरेलु क्रिकेट प्रतियोगितामा पहिलो संस्करणको पोखरा प्रिमियर लिगमा २०१८ ( पिपिएल ) मा बिराटनगर टाईटन्स टिमको कप्तानी गरेका थिए। पिपिएलको उक्त सिजन बिराटनगरले ५ खेलमा एक खेलमा मात्र जित हाँसिल गरेको थियो। त्यस अघि उनले नेपाली अन्डर-१९ टिमको २०१६ एसीसी अन्डर-१९ एसिया कपमा पहिलो पटक कप्तानी सम्हालेका थिए। यस्तै उनले २०१७ यु-१९ विश्वकप छनोटमा समेत नेपाली युवा टिमको कप्तानी सम्हालेका थिए। यो वर्ष आयोजित काठमाडौँ मेयर कपमा सन्दिपले काठमाडौँ मेयर्स-११ को कप्तानी गरेका थिए।

ईपिएलमा लामिछानेले गत सिजन ( २०१८ ) ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर पेट्रिएट्सको प्रतिनिधित्व गरेका थिए जुन क्रममा मात्र दुई खेल खेलेपछि बिग ब्यास लिग खेल्न अस्ट्रेलिया प्रस्थान गरेका थिए।

काठमाडौँ किंग्स-११ ले यो सिजन विदेशी खेलाडीको रुपमा चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई भित्र्याईसकेको छ। अन्य विदेशी खेलाडीको भने टिमले घोषणा गरेको छैन। टिममा राष्ट्रिय क्रिकेटर दिपेन्द्र ऐरी, सुबास खकुरेल, जितेन्द्र मुखिया, राजु रिजाल, अमृत भट्टराई, अमित श्रेष्ठ, अमर सिंह रौटेला, संसाद शेख, आकाश चन्द, शेर मल्ल र दिपेन्द्र रावत जस्ता खेलाडीहरु रहेका छन्।

पछिल्लो सिजन २०१८ मा काठमाडौँ किंग्स-एघार लिग अंक तालिकाको दोश्रो स्थानमा रहँदै प्लेअफ प्रवेश गर्न सफल रहेको थियो। पहिलो र दोश्रो क्वालिफायरमा ललितपुर र भैरहवासंग पराजित हुँदै टिमको यात्रा समाप्त भएको थियो। त्यस अघि २०१७ को ईपीएल टि२० मा काठमाडौँ ५ खेलमा एक खेलमा मात्र जित हात पार्दा अंक तालिकाको पाँचौ स्थानमा रहँदै प्लेअफमा स्थान बनाउन असफल रहेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy