क्रिकेटको व्यवस्थापनमा पुग्ने पारसको उद्देश्य

२०७८ श्रावण १९, मंगलवार १४:२४

Paras Khadka

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्यास घोषणा गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले दुई वर्ष पछि हुने नेपाल क्रिकेट संघको ( क्यान ) निर्वाचनमा उपस्थिति जनाउने बताएका छन्।

सन्यास पछि बीबीसीसंगको कुराकानीमा पारसले क्यानको निर्वाचनमा जान क्रिकेटरले दुई वर्ष क्रिकेट छोडेको हुनु पर्ने जसको लागि सन्यासको समय उपयुक्त भएको बताएका हुन्। “क्यानको विधान अनुसार निर्वाचनमा जान क्रिकेटरले दुई वर्ष क्रिकेट छोडीसकेकको हुनुपर्छ जुन हिसाबले समय मिलेको छ।” खड्का पछिल्लो निर्वाचनमा समेत संलग्न हुन खोजेता पनि खेल जीवन सक्रिय हुनुको कारण रोकिएका थिए।

“दुई दशक मैदान भित्र लडेँ, अब क्रिकेटको व्यवस्थापनमा भूमिका खेल्नको लागि हुनेछ। “म त्यता पनि केही गरेरै देखाउन चाहन्छु। प्रणाली बनाउन तिर म कोसिस गर्नेछु।” खड्काले बीबीसीलाई बताए।


सन् २००४ मा नेपाली राष्ट्रिय टिमको डेब्यु गरेका पारसले सन् २००९ देखि २०१९ सम्म नेपालको कप्तानी गरेका थिए। त्यो अवधिमा पारसले बिभिन्न समयमा क्रिकेट संघ बिरुद्ध खुलेर आवाज उठाउदै आएका थिए। २०१४ को टि-ट्वान्टी विश्वकप पछि पारस सहित राष्ट्रिय क्रिकेट टिमले नेपाल क्रिकेट संघको गतिविधिप्रति असन्तुष्टि जनाउँदै सिनियर एकदिवसीय राष्ट्रिय प्रतियोगितानै बहिस्कार गरेको थियो। क्रिकेटर र क्यान बीचको त्यसबेलाको विवादले ठूलो रुप लिंदा दुई पक्ष बीच वार्तानै गर्नु परेको थियो। त्यस अघि पनि सन् २०१० मा इटालीमा आयोजित डिभिजन-४ प्रतियोगिता अघि पारसको नेतृत्वमा खेलाडीहरुले क्यानले क्रिकेट विकासमा ध्यान नदिएको आरोपमा पत्रकार सम्मेलन गरेका थिए। खड्काले कप्तानी छोड्नुको पछाडी पनि क्यानसंगको चिसो सम्बन्ध मानिन्छ जुन अझै पनि सुधार भएको छैन।

“क्रिकेट व्यवस्थापनमा जाने इच्छा छ जसको लागि समय पनि मिलेको छ। एकल प्रयासबाट मात्र केही गर्न सकिँदैन, सबैको साथ चाहिन्छ।” क्यान बिरुद्ध बिभिन्न समयमा आवाज उठाउदै आएका खड्काले अब क्यानकै नेत्रित्वमा पुगेर क्रिकेट विकासमा योगदान दिने लक्ष्य लिएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy